गलकोट । विस.२०७१ सालमा बागलुङ बजारमा जडान गरेका २९ सिसी क्यामेरा अहिले प्रयोगमा छैनन् । बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय र बागलुङ उद्योग वाणिज्य सङ्घको समन्वयमा जडान गरिएका ति सिसी क्यामेरा समयमै मर्मत सम्भार नहुँदा काम नलाग्ने भएका हुन् ।
विसं २०७५ मा २९ मध्ये १६ सिसी क्यामेरा बिग्रिएका थिए भने अहिले एउटा सिसी क्यामेरासमेत सञ्चालन नआउँदा जिल्ला सदरमुकामा सुरक्षा चुनौती बढेको छ । बागलुङ बजारमा चोरी डकैतीका घटना बढ्न थालेपछि नियन्त्रणका लागि अत्यावश्यक बनेको सिसी क्यामरा नहुँदा समस्या छ ।अपराध नियन्त्रणका साथै चोरी डकैतीका घटना बाहिर ल्याउन तथा अदालतलेसमेत सिसी क्यामेराको दृश्यलाई भरपर्दो प्रमाणका रुपमा लिने गरिएको छ ।
सुरक्षा व्यवस्थामा सहजता ल्याउन जडान गरिएका सिसी क्यामेरा यथाशक्य छिटो सञ्चालनमा ल्याउनुपर्ने स्थानीय प्रशासनको माग छ । अपराध नियन्त्रण र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन जडान गरिएका सिसी क्यामेराको नियन्त्रण कक्ष जिल्ला प्रहरी कार्यालयमा राखिएको भए पनि सिसी क्यामेरा बिग्रिएपछि नियन्त्रणकक्ष समेत प्रयोगमा आउन छोडेको छ ।
प्रविधिको प्रयोगसँगै बढ्दो अपराध नियन्त्रण गर्न सिसी क्यामेरा अहिलेको अनिवार्य आवश्यकता रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए । ‘सिसी क्यामेरालाई आधार मानेर ठूला-ठूला जघन्य अपराधको अनुसन्धान गरिएको हुन्छ, हालै बागलुङमा फूलमाया माझीको हत्या विद्यालयको सिसी क्यामेराका आधारमा किनारा लगाउन सकियो’, ज्ञवालीले भने, ‘सिसी क्यामेरा नहुँदा सुरक्षामा प्रभाव परेको छ, दुर्घटना नियन्त्रण र दुर्घटनापछिको अनुसन्धान छुट्टाउन भूमिका सिसी क्यामेराको हुन्छ ।’
ज्ञवालीका अनुसार अहिले बागलुङ उद्योग वाणिज्यसङ्घले सिसी क्यामेरा जडान गर्न सर्वे गरेको जनाएको छ । सिसी क्यामेराको प्रमुख व्यवस्थापक रहेको बागलुङ उद्योग वाणिज्य सङ्घले बिग्रिएका सिसी क्यामेरा पुरानो मोडेलका भएको र नयाँ विद्युत्का पुलोमा केबल सहितको विद्युतीकरण गरी नाङ्गो विद्युतीय तारमुक्त बागलुङ बजार बनाउनका लागि दुई वर्ष सिसी क्यामेरा जडान गर्न नसकेको जनाएको छ ।
सङ्घका अध्यक्ष नरेश कँडेलले २०७१ सालमा जडान गरिएका सिसी क्यामेरा बिग्रेका बताए । अध्यक्ष कँडेलले भने, ‘क्यामेरा जडानका लागि बागलुङ नगरपालिकाले १५ लाख विनियोजन गरेको छ, हाम्रो लागत ४२ लाख हो, सिसी क्यामेरा राख्दै जाने, व्यवसयासी र बैंकर्सबाट सहयोग समेत उठाउने लक्ष्य छ ।’
बागलुङ नगरपालिकाले बागलुङ बजारमा सिसी क्यामेरा जडानका लागि तगारुकता देखाएर बजेट विनियोजन गरेको बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिए । अहिले जोड्ने भनिएका क्यामेरा बागलुङ बजार, रामरेखा, उपल्लाचौरदेखि कुडुँलेसम्म जडान गरिने गरी अध्ययन गरिएको छ ।