सत्तारुढ दलको बैठक निष्कर्षविहीन, आइतबार पुनः बस्ने



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षमा नपुगेरै सकिएको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताए । उनले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने बताए । उनले प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण भएको भन्दै मुलुकलाई जनताको आकाङ्क्षाअनुसार अघि बढ्ने ठुलो कुरा रहेको बताए । 


उनले भने, ‘जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ । बैठक भोलि फेरि बस्नेछ । भोलि हामीले निर्णय सुनाउनेछौँ । आज धेरै विषयमा गम्भीर रूपले छलफल भयो । छलफल सकारात्मक रूपले अघि बढेको छ । अहिलेको राजनीतिक परिस्थितिको बारेमा छलफल गरेका छौँ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको छ । प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकाङ्क्षाअनुसार अघि बढ्ने ठुलो कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । जनताको शान्ति, विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशातर्फ एकजुट भएर अघि बढ्ने बारेमा छलफल भएको छ ।’