बाँके । निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ ।
करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा.धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा ल्याइएको ताल अहिले संरक्षणको अभावमा पुनः पहिलाको जस्तै भएको हो ।
धेरै वर्षपछि ३५ लाख खर्च गरेर दोस्रोपटक सञ्चालनमा ल्याइएको रानीतलाउको सौन्दर्यको धेरै चर्चा भयो । नेपालगञ्जको पर्यटकीयस्थलका रूपमा परिचित रानीतलाउ अब झकिझकाउ भयो भन्ने धेरैलाई लाग्यो । दुर्भाग्य डेढ वर्षपछि रानीतलाउ फेरि उस्तै बाटोमा फर्किसकेको छ ।
अहिले तलाउमा बोटिङ बन्द भएको छ भने तलाउ फाेहाेर भएकाे छ । पर्यटकको घुइँचो हुने रानीतलाउ सुनसान भएको स्थानीय कृष्णमुरारीप्रसाद भट्टले बताए ।
उनले भने, ‘नेपालगञ्जको ऐतिहासिक पर्यटकीय क्षेत्र मानिएको रानीतलाउ फेरि उस्तै गतिमा जाने थालेको छ, बहुत् दुःख लागेको छ, नेपालगञ्ज शहरको आकर्षण र पुरानो गहनाको रूपमा रहेको यो तालको दुर्दशा हेर्दा लज्जित महसुस गरेको छु ।’
सौन्दर्यकरण गर्नका लागि रानीतलाउमा धेरै पैसा लगानी गरियो । पैसा खन्याएर मात्रै हुँदोरहेनछ भन्ने देखिँदै आएको छ । रानीतलाउलाई झकिझकाउ बनाएर वार्षिक १८ लाखमा ठेक्का दिइएको थियो । ठेकेदारले छोड्दा चारवटा डुंगा कामै नलाग्ने अवस्थामा रहेका छन् ।
नेपालगञ्जको इतिहास बोकेको दुई सय वर्ष पुरानो रानीतलाउमा संक्षणको अभावमा अहिले पर्यटकको संख्या घटेको छ । फुर्सदको समयमा बालबालिका भुलाउने ठाउँका रूपमा परिचत रानीतलाउ पुनः जीर्ण बन्दै गएपछि तलाउ घुम्न आउने पर्यटकको संख्या घटेको हो ।
बालबालिका खेल्नका लागि तलाउ परिसरमा राखिएको झुला, चिप्लेटीलगायतका सामग्री बिग्रिएका छन् भने संरक्षणको अभावमा फूलबारी पनि जीर्ण बनेको छ । राज्य पुनःसंरचनापछि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले तलाउलाई जीर्णोद्वार गरेका थिए ।
निरन्तर मर्मतसम्भार तथा संरक्षणको अभावका कारण अहिले पुनःतलाउ जीर्ण बन्दै गएको छ । सरसफाईको अभावका कारण तलाउको पानी फोहर भएकाले सरसफाई गरी संरक्षण गर्नुपर्ने स्थानीय गिरवरप्रसाद अग्रवालले बताए ।
२०७६ असार १५ गते सौन्दर्यीकरण भएपछि रानीतलाउको उद्घाटन गरेर वडा नं ८ ले करिब चार महिना रानीतलाउ सञ्चालन गरेको थियो । वडा कार्यालयका अनुसार सो अवधिमा छ लाख रकम संकलन भएको भयो ।
१० लाखबाट सुरु भएको ठेक्का कबोल १८ लाखमा गएर अडियो । त्यो बीचमा चैतदेखि कोरोना कहर सुरु भएपछि ठेकेदारले छोडेर गएपछि तलाउ बन्द गरिएको थियो ।
कोरोनापछि माघ ४ गतेदेखि उपमहानगरपालिका र वडाबाट एक-एक जना कर्मचारी खटिएर रानीतलाउ खोलिएको छ । बोटिङ गर्ने सुविधा नरहेकाले पर्यटकको बाक्लो उपस्थिति देखिएको नदेखिएको त्यहाँका कर्मचारी सुदेश केसीले बताए ।
‘सुरुआती चरणमा करिब दुई वर्षमात्रै तलाउ राम्रै सञ्चालनमा आए पनि कोरोना महामारीका कारण तलाउ बन्द भएको थियो । कोरोनापश्चात तलाउ जीर्ण बन्दै गएपछि पुरानै लयमा फर्किन सकेन ।’ कर्मचारी केसीले भने ।
तलाउ मर्मतसम्भार गरेर पुनः पहिलेकै अवस्थामा ल्याउने योजना रहेको नेपालगञ्जका उपप्रमुख कमरुद्दिन राईले जानकारी दिए । सरोकारवाला निकायले थप अकर्षण र मनोरञ्जन गर्ने सामग्री जडान गरी नियामित मर्मतसम्भार गरी सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् ।