सुर्खेत । निर्वाहमुखी तरकारी खेती गर्दै आएका वीरेन्द्रनगर–१० रहलपुरका कृषक व्यावसायिक तरकारी उत्पादन गर्न लागिपरेका छन् । भारतबाट तरकारी आयात नियन्त्रण गर्दै स्थानीय उत्पादनलाई बढवा दिने उद्देश्यले व्यावसायिक तरकारी खेती गर्न अग्रसर भएका हुन् ।
निर्वाहमुखी तरकारी खेती गर्दै आएका कृषकलाई व्यावसायिक बनाउन युएसएड नेपालको सहयोगमा सञ्चालित सिसा परियोजनाले किसान कार्ड (क्रेडिट) कार्ड र कार्डबाट किसानले ५० हजार बराबरको तरकारीको बीउ र अन्य कृषि सामग्री किनमेल गर्न पाएपछि कृषक व्यावसायिक तरकारी खेतीमा आकर्षण बढ्दै गएको हो ।
वीरेन्द्रनगर–१० रहलपुरकी राधा चौधरीले १० कठ्ठा जमिनमा तरकारी खेती लगाएको बताइन् । उनले तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि रोजगारीका लागि समेत बाह्य जानुपर्ने समस्या समधान भएको जानकारी दिए । ‘तरकारी खेती गर्ने सीप र आवश्यक पर्ने बीउबिजन किन्नका लागि क्रेडिट कार्ड पाएसँगै आफ्नो पाँच जनाको परिवार तरकारी खेती गरेको’, उनले भने ।
उनले भने, ‘परिवारका पाँच जना सदस्य नै बिहान सबेरैदेखि साँझ अबेरसम्म कृषि व्यवसायमै व्यस्त हुन्छौँ, आलु, काउली, टमाटर, धनिया, साग, मुलालगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छौँ र दैनिक ५० किलो तरकारी बेच्ने गरेका छौँ ।’ कार्ड पाएपछि आवश्यक बीउबिजन, विषादी, कृषि उपकारणलगायत सामग्री किन्न सजिलो भएको चौधरीले बताए । उनले भने, ‘घरमा पैसा नभए पनि समस्या छैन, क्रेडिट कार्ड पाएपछि कृषि व्यवसायमा ठूलो राहत मिलेको छ ।’
उनीजस्तै वीरेन्द्रनगर–९ की शान्ति चौधरीले पनि सात कट्ठामा तरकारी खेती सुरु गरेकी छन् । उनले दैनिक ५० किलोसम्म तरकारी बिक्री गरी मासिक एक लाखसम्म आम्दानी गर्ने गर्छिन् । उनले घरमा तरकारी लगाए पनि निर्वाहमुखी थियो, त्यति तरकारीले घरमा खान पुग्दैन थियो ।
तरकारी किन्न हामी आफैँ बजार आउँथ्यौँ, अहिले आफैँ व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानीसँगै परिवारका लागि खाने तरकारी प्रशस्त फलाउने गरेका छौँ’, उनले थपे, ‘पाँच जनाको परिवारको खर्च सजिलै टरेको छ, महिनामा कम्तीमा एक लाखसम्म बचत गरिरहेका छौँ ।’ उनको तरकारी बारीमा अहिले काउली, आलु, लसुन, धनिया, साग, मुला, टमाटरलगायत तरकारी उत्पादन भइरहेको छ ।
सिसा परियोजनाले मेगा बैंकसँग सहकार्य गरी चिप्ससहितको क्रेडिट कार्ड बनाएको हो । सुर्खेतमा पहिलो चरणमा ५० जनाले कार्ड पाएका छन् । जिल्लाभरि दुई सय जनालाई यो वर्ष परिचयपत्र वितरण गरिने सिसा परियोजनाका अधिकृत अष्ट प्रजापतिले बताए । उनले परियोजनामार्फत किसानलाई खाताबुकसमेत दिएको र किसानले हरेक दिन बेच्ने तरकारी नाम, बिक्री भएको परिणाम, खर्च र जम्मा भएको रकम खातामा टिपेर राख्ने गरेको बताए ।
उनले भने, ‘किसानले कति आम्दानी र खर्च भयो भन्नेबारे दैनिक लेखाजोखा गरेका छन् ।’ क्रेडिट कार्डसहितको परिचयपत्रले रहरपुर, गुस्रा र प्रसेनीका किसान अहिले कृषि पेसामा मोहित भएको परियोजना अधिकृत प्रजापतिले बताए । उनले व्यावसायिक कृषिमा अग्रसर भएका महिलाहरूको प्रगति देखेर नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनलगायतको टोली खुसी भएको बताए ।
रोजगारीसँगै मासिक एक लाखसम्म आम्दानी गर्न थालेपछि त्यस वरिपरिका किसानसमेत व्यावसायिक तरकारी खेतीतर्फ आकर्षण बढेको स्थानीयवासीले बताए । तरकारी खेती चलन नै थिएन, पछिल्लो समय बजारमा तरकारीको मूल्य राम्रो पाउने भएपछि किसान सबै तरकारी खेतीमा लागेको छन् एक स्थानीयवासी बताउँछन् ।
चुलो चौकामा सीमित हुने महिलाले आफैँ सक्षम भएर व्यावसायिक तरकारी खेती गरेको देख्दा सबै खुसी भएका छन् । महिला आर्थिकरूपले सक्षम बन्दै गएपछि छिमेकमा समेत घरेलु हिंसाका घटनामा पनि कमी आएको छ ।