विहे भोजमा विषाक्त खाना खुवाउने रिसोर्टलाई तीन लाख जरिवाना



चितवन । विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख रुपैयाँ जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । मंसिर २३ गते सिजिआरमा भएको विवाहका जन्तीले खाएको खानामा विषाक्त वस्तु भेटिएपछि होटललाई जरिवाना गर्न सिफारिस गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समिति चितवनका संयोजक चिरञ्जीवी शर्माको संयोजकत्वमा सरोकारवालासहित टोलीले अनुगमनपछि आज प्रतिवेदन प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई बुझाएको हो ।


समितिले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेकाले सोही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकतम रु तीन लाख जरिवाना तिराउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरेको छ ।

अनुगमन समितिले होटलले गरेको लापरबाहीपूर्ण कार्यका सात बुँदे कैफियतका आधारमा जरिवाना सिफारिस गरेको हो । अनुगमन समितिसमक्ष होटल सञ्चालकले सिल खोली दिन र सात दिनको समय दिन माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । गत मंिसर २३ गते नवलपुरको गैँडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको सो होटलमा भएको एक विहे भोजमा सहभागी भएका दुवै पक्षका झण्डै तीन सय जना खाना खाएपछि बिरामी भएका थिए ।

भरतपुरको नेशनल सिटी अस्पतालमा झाडापखाला, वान्ता तथा रिङटा लागेर भर्ना भएका बिरामीबाट गरिएको नमूना परीक्षणमा उनीहरूले दिसामा पाइने इकोलाई भन्ने ब्याक्टेरिया पाइएको पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

होटलले खानामा गम्भीर लापरबाही गरेको पाइएको बताउँदै उनले दिसामा पाइने ब्याक्टेरिया नै भएको पुष्टि भएको बताए । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नपाकेको खाना, दही, सलाद, पानीपुरी, अचार आदिमा त्यस्तो ब्याक्टेरिया भएको हुन सक्ने बताए ।

समितिको प्रतिवेदनमा सलाद सफा गर्न प्रयोग गरिएको रसायन उपभोग्य मिति समाप्त भएको, ढोका तथा झ्यालमा जाली नभएको, झिङ्गा देखिएको, कामदारको सरसफाइको अवस्था सन्तोषजनक नभएको उल्लेख छ । यसैगरी भान्सा र भाँडा माझ्ने ठाउँ एकै ठाउँमा रहेको, पिनट बटर र रसवरी उपभोग्य मिति समाप्त भएको र अभिलेख प्रणाली राम्रो नभएको उल्लेख छ ।