वडामै योजना सम्झौता : समय र खर्चको बचत



म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिसँग योजना सम्झौता गर्न थालेको छ ।

वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिलाई झन्झट हट्नुका साथै समय र खर्चको बचत भएको छ । गाउँपालिकाको केन्द्र मुनामा पुगेर योजना सम्झौता गर्न अपायक पर्ने वडा नं ६ मराङ र ५ मल्कवाङका उपभोक्ता समितिलाई लक्षित गरेर सोमबारदेखि घुम्ती शिविर सञ्चालन गरेको छ ।


वडामै योजना सम्झौता हुँदा उपभोक्ता समितिका पदाधिकारीलाई पालिकामा जाने आउने समय, झन्झट हट्नुका साथै व्ययभार घटेको अर्वाङ–थापाघडेरी मोटरबाटो निर्माण समितिका अध्यक्ष पदमबहादुर गर्बुजाले बताए । ‘मुना पुग्न, काम गर्न र फर्कन उपभोक्तालाई कम्तीमा दुई दिन लाग्ने गर्छ’, उनले भने, ‘वडामै योजना सम्झौता भएपछि एउटा उपभोक्ता समितिका कम्तीमा तीन जनाको पालिका जाने आउने समय र खर्च बचत भएको छ ।’

मराङ र मल्कवाङका बासिन्दालाई धवलागिरिको केन्द्र मुनामा पुग्न मालिकाको केन्द्र दरबाङ धारापानी ताकम हुँदै घुमाउरो यात्रा गर्नुपर्छ । पालिकाको आर्थिक कारोबार हुने प्रभु बैंकको शाखा ताकममा छ । मुनामा बैंकको शाखा नभएकाले खाता खोल्ने र आर्थिक कारोबारका लागि ताकम पुग्नुपर्छ ।

पालिकाको केन्द्र र बैंकको शाखा एकै ठाउँमा नहुँदा मल्कवाङ, मराङ र ताकमका सेवाग्राहीलाई झञ्झटपूर्ण उल्टो यात्रा गर्नुपर्छ । मराङ र मल्कवाङका उपभोक्तालाई आर्थिक कारोबार गर्न ताकमभन्दा दरबाङमा रहेको बैंकको शाखाबाट सजिलो र पायक पर्छ ।