राष्ट्रपतिले दिएको समयसीमा सकियो, सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धनको सरकार



काठमाडाैँ । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज साँझ पाँच बजेसम्मको समय सीमा सकिएको छ । 

निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय ‘शीतल निवास’ पुगेका छन् । नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो । 


प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राष्ट्रपति कार्यालय शितल निवासमा दर्ता भएको छ । १६६ जनाको हस्ताक्षरसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् ।

नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबेदारी पेस गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार ७ दिनको समयसीमा तोक्दै प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न दलहरुलाई आह्वान गरेकी थिइन् ।