काठमाडौँ । चितवन क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो नागरिकताबारे छानबिन गर्न प्रशासनले प्रहरीलाई पत्राचार गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले महागनरीय प्रहरी परिसर काठमाडौंलाई पत्र पठाएर छानबिन गर्न आग्रह गरेको हो । प्रशासनले पत्र पठाएपछि आवश्यक प्रक्रिया अघि बढाएको परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।
लामिछानेले विदेशी नागरिकता लिएर पनि नेपाली नागरिकता नत्यागी राहदानीसमेत निकालेको विषयमा निर्वाचनअघि नै उजुरी परेको थियो । लामिछाने विरुद्धको उजुरीमा निर्वाचन आयोग मौन बसेका बेला प्रशासनको निर्देशनअनुसार प्रहरीले छानबिन प्रक्रिया थालेको हो ।
कुनै पनि नेपाली नागरिकले अन्य देशको नागरिकता वा पीआर लिइसकेपछि नेपालको नागरिकता कानुनतः स्वतःखारेज हुन्छ। तर लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता नत्यागेको खुलेको छ ।
उनले यसअघि विवादमा परेपछि अमेरिकी पीआरसमेत त्यागेका थिए ।तर पीआर त्यागेपछि रविले फेरि नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने थियो ।
तर त्यसो नगरी उनले अमेरिकी नागरिकता लिनुअघिकै नागरिकता निर्वाचन आयोगमा पेश गरेर उम्मेदवार बनेको आरोप छ ।
आयोगले मौनता साँधेपछि रविविरुद्ध सिधै गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलय काठमाडौं उजुरी परेको थियो । रविले यसअघि नागरिकता प्रकरणमा प्रश्न उठ्दा हुँदै नभएको कुरामा आफूलाई खेद्ने काम भएको गुनासो गरेका थिए ।