काठमाडौँ । ३६ वर्षपछि आर्जेन्टिनालाई विश्वकप उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका कप्तान लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नलिने बताएका छन् ।
विश्वकपको फाइनल खेलको निर्धारित समय र थपिएको तीस मिनेटमा ३–३ को बराबरीपछि ’पेनाल्टी’मा फ्रान्सलाई ४–२ अन्तरले हराएसँगै दक्षिण अमेरिकी टोलीका कप्तान तथा पीएसजी क्लबका अग्रपङ्क्ति खेलाडीलाई उनको भविष्यबारे आर्जेन्टिनी टिभी टीवाइसी स्पोर्ट्सले प्रश्न गरेको थियो ।
आगामी वर्ष ३६ वर्ष पुग्ने मेस्सीले आफूले देशका लागि अझै प्रशस्त खेल्नसक्ने विश्वास व्यक्त गरेका छन् । मेस्सीले हालसम्म पाँच पटक विश्वकप प्रतियोगितामा सहभागिता जनाएका छन् र गएराति सम्पन्न खेलमा उनले दुई पटक गोल गरे भने ’पेनाल्टी शुट’लाई पनि गोलमा परिणत गरे। यसपालिको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै उनले ’गोल्डेन बल’ पनि जिते।
प्रतियोगितामा उनले कूल सात गोल गरे। उनीभन्दा एक गोल बढी गरेका फ्रान्सका किलियान एमबापेले ’गोल्डन बुट’ जिते । आगामी विश्वकपका बेला मेस्सी ३९ वर्षका हुनेछन् र केही समय अघि उनले कतार विश्वकप नै उनको खेल जीवनको अन्तिम विश्वकप हुने सङ्केत गरेका थिए ।
तर आर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले अमेरिका, क्यानडा अनि मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने सन् २०२६को विश्वकप प्रतियोगितामा मेस्सीलाई टोलीमा समावेश गर्न चाहेको टिप्पणी गरेका छन् ।