मेटाभर्स : भर्चुअल दुनियाँमा जमिन किन्न दशौँ लाख



इन्टरनेटको भविष्य भनिएको मेटाभर्समा आफू अगाडि हुने प्रतिस्पर्धाबीच विभिन्न कम्पनीहरूले विगत १२ महिनामा करिब दुई अर्ब अमेरिकी डलर खर्च गरेको अध्ययनले देखाएको छ। यो रकम नेपाली रुपैयाँ दुई खर्ब ६० अर्ब बराबर हो । वर्षौँ पहिले नै मानिसहरू अनलाइनको भर्चुअल दुनियाँमा बस्ने, काम गर्ने र खेल्ने प्रविधि विकास भइसकेको अवस्थामा मेटाभर्समा पाइला राख्नु ठूलो बाजी हो र ? ठूलो आकारको चुरोट लिएको कलाकार एन्जी टेलरको अवतार कुनै पनि जमिनदारको नमुनाजस्तो देखिँदैन तर नयाँ भर्चुअल दुनियाँमा आफ्नो भर्चुअल जमिन बिस्तार गर्ने बढ्दो पुस्तामा उनी पनि एक हुन् ।

‘मैले सन् २०२० मा १,५०० पाउण्डमा पहिलो मेटाभर्स ठाउँ किनेकी थिएँ। त्यसलाई मैले आफ्नै कामको प्रदर्शनीका लागि किनेको हो। तर मैले मेरो र अरू मानिसहरूको कला प्रवर्द्धनका लागि आयोजना हुने मेटाभर्स कार्यक्रमहरू सञ्चालनका लागि पनि प्रयोगमा ल्याएँ,’ उनी सुनाउँछिन् ।


बेलायतको ब्राइटनकी एन्जीले वक्सेल्स भर्चुअल दुनियाँमा सुन्दर डिजिटल कलाकृतिले भरिएका दुई वटा ग्यालरी तयार गरिन् जुन क्रिप्टोकरेन्सीमा विक्री भइरहेका छन् । भर्चुअल दुनियाँमा एन्जीको ठाउँ एउटा सानो परिवार अटाउने घर जत्रो मात्रै छ। उनको ठाउँ तीन तल्ला अग्लो छ, कौसी छ र अगाडिपट्टी बाटो पार गर्ने सङ्केत कोरिएको सडक छ ।

एउटा गुलाबी रङ्गको ट्याक्सी उनको घर अगाडि यताउता गुडिरहन्छ, त्यो चाहिँ यत्तिकै रमाइलोका लागि हो । तर यहाँ साँच्चिकै वास्तविक दुनियाँको आभास हुन्छ । ‘एफ’ की दबाएपछि तपाईँ उडेर माथि पुग्नुहुन्छ र मेरो छरछिमेक हेर्न सक्नुहुन्छ,’एन्जी बताउँछिन् ।

उनको ग्यालरीभन्दा माथि क्षितिजसम्म फैलिएका जमिनका टुक्राहरू देख्न सकिन्छ । वक्सेल्स दर्जनौँ भर्चुअल दुनियाँ मध्येको एक हो जसले आफूलाई मेटाभर्स भनेर चिनाउँदै आएको छ । मानिसहरूले मेटाभर्स भनेको एउटा मात्रै छ जसरी कुरा गर्ने गरेका कारण यसले धेरैलाई अन्योलमा पारेको छ। तर यस्तो सुविधा उपलब्ध गराउने धेरै कम्पनीहरू छन् ।

तर मेटाभर्सको एउटै प्लेटफर्म हाबी नभएसम्म वा आ–आफ्नै भर्चुअल दुनियाँ निर्माण गरेका सबै कम्पनीहरू एक ठाउँमा जोडिएका छैनन् र उनीहरूले आफ्नै अलग अलग दुनियाँमा ठाउँ र अनुभवहरू बिक्री गरिरहेका छन् ।

मेटाभर्सको विश्लेषण गर्ने ड्याप राडारका अनुसन्धानकर्ताहरूका अनुसार गत वर्ष मात्रै भर्चुअल दुनियाँमा जमिन किन्नका लागि १ अर्ब ९३ करोड अमेरिकी डलर खर्च भएको छ । त्यसमध्येको पनि २ करोड २० लाख डलर वक्सेल्समा भर्चुअल जमिनका ३,००० टुक्रा किन्न खर्च गरिएको छ ।

वक्सेल्स इथिरियम क्रिप्टोकरेन्सी प्रणालीमा निर्माण गरिएका कारण ड्याप राडारले यसको अनुगमन गर्न सक्छ । सबै प्रकारका भर्चुअल मुद्राको जस्तै यसका पनि कारोबारहरू सार्वजनिक ब्लकचेनमा प्रकाशित हुन्छन् ।