काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् ।
मंगलबार बिहान नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको भेटमा प्रधानमन्त्रीले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भइसकेको बताएका हुन् ।
प्रधानमन्त्रीले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने बताए ।
प्रधानमन्त्रीले भने,‘महासंघ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईँहरू चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रूपमा लिन्छ ।’
प्रधानमन्त्रीले महासंघकातर्फबाट यसअघि दिइएका सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने आश्वासन दिएका छन् ।
भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय सन्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालु पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए ।
उनले समग्र बैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेको भन्दै बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।