गण्डकी । कवि भूपि शेरचनको स्मृतिमा उनका परिवारबाट स्थापित थकाली सेवा समिति पोखराद्वारा प्रदान गर्ने यस वर्षको भूपि काव्य पुरस्कार काठमाडौँकी उषा शेरचनलाई दिइने भएको छ । पुरस्कार छनोट समितिको आज बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समितिका संयोजक अशोककुमार भट्टचनले जानकारी दिए ।
आगामी पुस १० गते ८९औँ भूपि जयन्तीका अवसरमा पोखरामा कार्यक्रमको आयोजना गरी साहित्यकार शेरचनलाई उक्त पुरस्कार प्रदान गरिने उनले बताए । नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रदान गरिने उक्त पुरस्कारको राशि रु ५० हजार दोसल्ला र सम्मानपत्र छ ।
पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समितिका अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन रहेकी थिइन । हरेक दुई–दुई वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भईसकेका छन् ।
विसं १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपि लेखनको आरम्भिक चरणमा सर्वहाराका लागि कविता लेख्दै पछि समसामयिक विषयमा सरस र व्यङ्ग्यात्मक कविता लेख्दै सशक्त कविका रुपमा स्थापित बनेका थिए । उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रह २०२५ लाई नेपाली कवितामा विशिष्ट मानिन्छ । भूपिले सो कृतिबाट २०२६ सालको साझा पुरस्कारसमेत प्राप्त गरेका थिए । नारायण गोपालको स्वर र भूपिको शब्द रहेको अल्झे छ क्यारे पछ्यौरी गीत निकै चर्चित छ । परिर्वतन नाटक ९२०१००, नयाँ झ्याउरे कविता २०१० र निर्झर कविता २०१५ उनका प्रकाशित कृतिहरू हुन् ।