बसाइँसराइसँगै स-यो भुवापर्व



दोधारा चाँदनी । त्रियानब्बे वर्षीय वृद्धदेखि २० वर्षका युवासम्म अर्थात् बाजेदेखि नातिसम्म । सबैले दौरासुरुवाल लगाएका छन् । हातमा तरबार र ढाल छ । गोलो घेरामा रहेका सबै पुरुष बाजाको तालमा खुट्टा चालिरहेका छन् । झट्ट हेर्दा युद्धकलाको झल्को दिने भुवा नाचको दृश्य कञ्चनपुरको भीमदत्त नगरपालिका–७ स्थित हल्दुखालमा देखिएको हो ।

खासगरी सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम, बाजुरामा महत्वका साथ मनाइने यो पर्व पछिल्लो केही वर्षयता त्यहाँबाट बसाइँसरी आएका पनि कञ्चनपुरमा मनाउन थालेका छन् । पुस महिनाको औँसीदेखि पूर्णिमासम्म भुवा पर्व खेल्ने प्रचलन रहेको छ । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जीतको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंबदन्ती रहेको ९३ वर्षीय डम्बर पाण्डेय बताउँछन् ।


“असत्यमाथि सत्यको विजय भएको उत्सवमा यो पर्व मनाउने गरिन्छ ।” उनले भने,“यसमा भुवा मात्रै होइन भारी खेल, देउडा खेल राति अबेरसम्म खेल्ने र रमाइलो गरिन्छ ।” नेपाल एकीकरणका क्रममा बाइसे–चौबिसे राज्यका समयमा खेलिने सैनिक अभ्यास र पौराणिक राम राज्यको गाथा समेटिएको उनले बताए । उनका अनुसार पुसे औँसीको राति भुवाखडोमा आगो बालिन्छ । आगो तापेर नुहाइधुवाई सरसफाइ गरेर घरमा मिठो–मसिनो खाना बनाइएको हुन्छ ।

खाना खाएर अनि आफ्ना हतियार ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । औँसीको भोलिपल्ट लुगा कपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्वितीया तिथिको दिनमा प्रदर्शन गरिन्छ । भुवा पर्वको धार्मिक महत्व मात्रै नभइ यसको सामाजिक सांस्कृतिक महत्वसमेत रहेको जानकार लक्ष्मण अधिकारी बताउँछन् । “यसमा सबै जातजातिका मान्छे सहभागी हुन्छन् समाजको एकता,एवं आपसी सद्भावसमेत यो पर्वले झल्काउछ ।” उनले भने“भुवो नाचका क्रममा नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ ।”

उनले यो पर्वमा लोकभाकामा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको बताए । “भुवा गाउँमा सबैको घर घरमा गएर खेल्ने र आर्शिवाद साटासाट गर्ने पर्व हो ।” उनले भने–“अहिले हामीले परम्परा जोगाउँदै घर घरमा गएर भुवा नाच प्रदर्शन गर्दैछौँ ।” यसैगरी यहाँका स्थानीयवासी प्रदीप अधिकारीले भुवा नाचमा पुवा पुस्तादेखि बाजेपुस्तासम्म रहेको बताए । “यसको महत्व बुझेर अहिले हामी युवा पनि लागेका छौँ पाका पुस्ता त रहरले आउनेनैभए ।” उनले भने“अर्को पटक यसभन्दा बढी युवाको सहभागिता हुन्छ ।”

उनले युवाहरु पढाइ र रोजगारीको सिलसिलामा अन्यत्र रहेकाले पर्वमा प्रदेशभरी बिदा दिए युवा पुस्ताको सहभागिता बढ्ने बताए ।