पाेखरा । पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्यान्डफिल साइटमा आइतबारदेखि फोहोर फ्याँक्न रोक लगाइएको छ ।
तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको र तत्काल क्षेत्रगत रूपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । महानगर कार्यपालिकाले गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाका लागि हेम्जा, विरौटाका लागि छोरेपाटनलगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी छन् । जनवरी १ बाट जसरी पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो ।
हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्यान्डफिल साइट छोप्न सुरु गरिएको छ । दीर्घकालीन समयका लागि सम्भावित ठाउँमा वातावरण अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ जसले दीर्घकालीन रूपमा ल्यान्डफिल साइटको खोजी गर्नेछ । समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पमा अध्ययन गर्नेछ ।
विभिन्न मुलुकमा फोहोरबाट बायोग्यास, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचरलगायत विभिन्न सामग्रीसमेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यीमध्ये कुनै न कुनै विकल्पलाई व्यावहारिकरूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरिरहेको छ । महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूमा आवश्यक सहजीकरणसहित सहयोगका लागि आम नगरवासीसहित सम्बन्धित सरोकारवालाहरूमा अनुरोधसमेत गरेको छ ।