पार्टीका नवनिर्वाचित सदस्यलाई बधाई दिन पुस ५ मा एमालेको विशेष कार्यक्रम



काठमाडौँ । नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भई निर्वाचन परिणाम आइसकेको सन्दर्भमा आगामी पुस ५ गते राजधानीमा ‘एमाले जनताको रोजाईको पहिलो पार्टी’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

विजय, बधाई र उत्सवका रूपमा आयोजना गरिएको उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यलाई बधाई दिनुका साथै सम्बोधन गर्ने एमालेले जनाएको छ ।


यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा चौतर्फी घेराबन्दीको प्रतिकूल परिस्थितिमा पनि लोकप्रिय मतमा पहिलो भएको एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ जना र प्रदेश सभामा १६१ जना सदस्य निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरू, प्रदेश सभामा नवनिर्वाचित सदस्यहरू, राष्ट्रिय सभाका बहालवाला सदस्यहरू, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू, निर्वाचन परिचालन कमिटीका सदस्यहरू–पार्टीका केन्द्रीय सदस्यहरू, केन्द्रीय निकाय प्रमुख र पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय कार्यालय सचिव, प्रदेश कमिटीका पदाधिकारीहरू, जनसंगठनका थप तीनजना पदाधिकारी, केन्द्रीय कार्यालय र परिचालनमा संलग्नहरूलाई आमन्त्रण गरिएको छ ।