काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले पत्रकारितालाई संकुचित बनाउने प्रयास भइरहेकाले त्यसतर्फ सजग रहन पत्रकारहरूलाई सुझाव दिएका छन् । आज नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको दोस्रो वार्षिक साधरणसभामा उनले पत्रकारिता क्षेत्रको चुनौतीको चर्चा गरे ।
‘जहाँ लोकतन्त्र छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । तर स्वतन्त्रता विस्तारै सङ्कुचनमा गइरहेको छ’, उनले भने, ‘यहाँ मात्र होइन संसारमै यो चुनौती देखिन थालेको छ ।’ उनले विश्वमा भइरहेको लोकतन्त्रको लडाइँमा साथ दिनका लागि नेपाली पत्रकारको ध्यानाकर्षणसमेत गरे । पूर्व राष्ट्रपति यादवले विश्व परिवेषलाई ध्यान दिनुपर्नेमा जोड दिँदै भने, ‘ताइवानमा तीन लाख नेपाली छन् । त्यहाँको आन्दोलनमा के भइरहेको छ रु यता बर्मामा भइरहेको आन्दोलनमा पनि नेपाली पत्रकार र पत्रकारका सङ्घ–सङ्गठनले केही बोल्ने हो कि ?’
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यस वार्षिक साधारणसभामार्फत श्रम र सम्पादकीय स्वतन्त्रका विषयमा गहन छलफल हुनुपर्ने बताए । ‘पत्रकारिताभित्र श्रमको उचित मूल्याङ्कन हुनसकेको छैन । सम्पादकीय स्वतन्त्रताको अवस्था के छ भन्ने कुरामा समीक्षा गर्नुपर्ने भएको छ’, उनेले भने ।
महासंघका प्रतिष्ठान प्रदेशका महासचिव बालकृष्ण अधिकारीले कोरोना महामारीका बीच पनि प्रतिष्ठानले गरेको कामको समीक्षा र आगामी रणनीति निर्माणका लागि छलफल हुने बताए ।