काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई खोज्न कसैले पनि टर्च बाल्न नपर्ने बताएका छन् । पार्टीका नवनिर्वाचित सांसदहरुलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हामी उल्लासमय वातावरणमा छौं । चुनावअघि हामीलाई धुलो चटाउने, दिउँसै टर्च बालेर खोज्नुपर्ने कुराहरू भएका थिए । तर, एमालेलाई खोज्न टर्च बाल्न पर्दैन । एमालेको आवाज र गतिविधि जसले जहाँबाट पनि सुन्न सक्छ विश्वभरिबाट ।’
उनले मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा राज्यशक्तिको चरम दुरुपयोग भएको आरोप पनि लगाए । उनले निर्वाचनमा थुप्रै ठाउँमा धाँधली भएको र चुनाव गराउने निकायको भूमिका पनि निष्पक्ष नदेखिएको भन्दै निर्वाचन आयोगको भूमिकाबारे प्रश्न उठाए ।
उनले भने, ‘यस चुनावमा हाम्रो विजय खोसिएको छ । राज्यसत्ता र शक्तिको चरम दुरुपयोग भयो । जनताको सार्वभौम अधिकार हनन गरियो । निर्भय वातावरणमा जनताले प्रतिनिधि छान्न पाउने अधिकार कतिपय ठाउँमा खोसियो । यो जनताको सार्वभौमसत्तामाथिको प्रहार हो । लोकतन्त्र र संविधानमाथिको प्रहार हो ।’