नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई



काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । आइतबार साँझ ट्विटमार्फत मोदीले प्रचण्डलाई बधाई दिएका हुन् ।

बधाईमा मोदीले भारत र नेपाल बीचको अद्वितीय सम्बन्ध गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनता बीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गरेका छन् । उनले दुइदेश बिचको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताएका छन् ।


त्यस्तै चीनले पनि प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएको छ । प्रचण्डलाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले ट्वीट गर्दै बधाई दिएका हुन् । प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले प्रधानमन्त्रीको रुपमा सोमबार अपराह्न ४ बजे शीतल निवासमा शपथ लिने छन् ।