काठमाडौँ । रुपन्देहीको सालझण्डीमा नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ शुक्रबारदेखि सुरु भएको छ । सूर्य किरण सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमबीच शुभारम्भ गरेका छन् ।
विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी यो सैन्य अभ्यास सुरु भएको हो । यो अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी छन् ।
संयुक्त सैन्य अभ्यास आगामी पुस १४ गते सम्पन्न हुनेछ । यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा १५ पटक सञ्चालन भइसकेको छ।
काठमाडौंस्थित भारतीय दूतावासले भनेको छ, भारत र नेपालका सेनाबीचको द्विपक्षीय एवम् आपसी सहकार्यलाई सुदृढ बनाउन तथा दुई देशबीच सदियौंदेखि रहीआएको विशिष्ट र परम्परागत मित्रतालाई थप बलियो बनाउन यो सैन्य अभ्यास ‘सूर्यकिरण’ ले महत्वपूर्ण भूमिका खेल्नेछ । यस ‘सूर्यकिरण’ सैन्य अभ्यास श्रृंखलाले भारत र नेपालबीचको अद्वितीय तथा विशाल सम्बन्धलाई पनि प्रतिबिम्बित गर्दछ ।’