तरकारी खेतीमा रमाउँदै थारु महिला



तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १५ धम्कापुर ४२ वर्षीया स्यानी चौधरीले व्यावसायिक तरकारी खेती गरेको लामो समय भयो । व्यावसायिक धनियाँ खेतीमार्फत् आत्मनिर्भर बनेकी उनले सफल महिला किसानको रुपमा आफूलाई स्थापित गर्न सफल भएकि छन् ।

उनले धनियाँको पात मात्रै बिक्री गरी वार्षिक रु चार लाखसम्म बचत गरिरहेकि छन्। “धनियाँ बेच्न हरेक दिन बिहान छिटुवाभरी पात बोकेर घर घर पुग्छु”, उनले भनिन्, “गत दसैँ र तिहारमा अवधिमा धनियाँ बेचेरै रु डेढ लाखसम्म आम्दानी गरेँ ।”


विसं २०५८ देखि धनियाँखेती गरे पनि विगत १४ वर्षदेखि भने उनि व्यावसायिक तरकारीमा लागेको हो । उनले हाल १० कट्ठा जमिनमा स्थानीय जातको धनियाँखेती गरिरहेकि छन् ।

वर्षमा मौसमी र बेमौसमी गरी दुई पटक धनियाँ खेती गर्दै आएकी उनले धनियाँ प्रतिमुठा रु २० मा बिक्री गर्छिन् । धनियाँ बेचेर भएको आम्दानीबाट उनले गाउँमा १७ कट्ठा चार धुर जमिन जोड्न सफल भएकि छन् । जसमध्ये १० कट्ठामा व्यावसायिक धनियाँ खेती र बाँकी जमिनमा अन्य खेती गरेको उनले बताइन् ।

उनि मात्रै होइन यस क्षेत्रका अन्य थारू महिला पनि व्यावसायिक तरकारी खेतीमा लागेर आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका छन् ।

सोही ठाउँकी ५० वर्षीया रेखा चौधरी पनि व्यावसायिक तरकारीखेती गरी आर्थिक रुपमा आत्मनिर्भर बनेकि छन् । उनले १५ कट्ठा जग्गामा चम्सुर, पालक, गोभी, गोलभेडालगायतका तरकारी खेती गरेकि छन् ।

उनि पनि हरेक दिन बिहानै छिटुवामा तरकारी बोकेर पैदल हिँड्दै बिक्रीका लागि तुलसीपुर बजारसम्म पुग्छिन् । “पहिले हामी धानखेती गर्दथ्यौँ, तर आम्दानी राम्रो हुने भएपछि विगत छ वर्षदेखि व्यावसायिक तरकारीखेतीमै छौँ”, उनले भनिन्, “यसबाट वर्षमा रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ ।”

तरकारीखेतीमा सिँचाइको अभाव हुने गरेको बताउँदै उनले हालसम्म यसका लागि कुनै तालिम नलिएको बताइन् ।

सोही ठाउँकी ४० वर्षीया राजपति चौधरीले पनि १६ कट्ठा जमिनमा बन्दा, फूल गोभी, गोलभेडालगायतका तरकारीको व्यावासयिक खेती गर्दै आएकि छन् । दिनभर तरकारीखेतीमा व्यस्त हुने उनि पनि हरेक बिहानै छिटुवाभरी तरकारी बोकेर बिक्रीका लागि तुलसीपुरसम्म पुग्छिन् । उनले वार्षिकरुपमा रु साढे तीन लाखसम्म तरकारी खेतीबाट आम्दानी भइरहेको बताए ।

“तरकारीखेतीबाट भएको आम्दानीले दुई जना छोराछोरीलाई कृषि प्राविधिक विषय पढाउन सजिलो भएको छ”, उनले भनिन् ।

सामान्य लेखपढ गरेकी उनि व्यावसायिक कृषिमा महिलालाई टिकाइ राख्न सिँचाइको सहज सुविधा हुनुपर्ने बताउछिन् । उत्पादनका लागि पानीको सुविधा र बिक्रीका लागि बजार, उचित मूल्य, विउ र कीटनाशन औषधिका साथै तालिमको व्यवस्था स्थानीय निकायले गरी दिनुपर्नेमा उनको जोड छ ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले नगरपालिकाभित्र उत्पादन हुने सबै उत्पादनको उचित मूल्य, बजारीकरणका लागि आफूहरु लागेको जिकिर गरिन् ।

किसानले तुलसीपुर बजारमा तरकारी बजार केन्द्र भवन निर्माण गरेको भए पनि सबैलाई पायक नपरेकाले महिला किसानहरु बिहानै छिटुवा बोकेर बजार जानुपरेको बताइन् ।

उनले धम्कापुर गाउँलगायत उपमहानगरपालिकाका किसानलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन उपमहानगरबाट प्रोत्साहन गर्नका लागि कृषि कार्यक्रम सञ्चालन गरेको बताइन् ।