काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा तमु ल्होसार पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरिएकाे छ ।
सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएकाे छु ।’
तमु ल्होसारका दिन गुरुङ समुदायका महिला शिरबन्दी, मखमली चोली, घलेक, पटुकी, छिटको गुन्यु र मजेत्रो तथा पुरुष टोपी, भोटोमाथि भाङ्ग्रा, कछाड अनि पटुकी बाँधेर सजिन्छन् । यस अवसरमा घाटु, सोरठी, कौडाजस्ता परम्परागत नृत्य गर्दै रमाइलो गर्ने गर्दछन् ।
नेपालको मौलिक सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको सन्देशमा उल्लेख छ ।
नेपालका हिमाली र उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वलाई नयाँ वर्ष सुरु भएका अवसरका रूपमा हर्षोल्लासका साथ मनाउने गरिन्छ । गुरुङ समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा यो पर्व धुमधामसँग मनाउने गरिन्छ ।