काठमाडौँ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
ती मध्ये नौ महिला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा (एमाले)बाट बारा–३ बाट ज्वालाकुमारी साह, धनुषा–३ बाट जुलीकुमारी महतो, सुनसरी–३ बाट भगवती चौधरी र कास्की–२ बाट विद्या भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
यसैगरी तेह्रथुम–१ बाट नेपाली कांग्रेसकी सीता गुरुङ, दाङ–२ बाट नेकपा (माओवादी केन्द्र)की रेखा शर्मा, कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की र सोही पार्टीकी सोबिता गौतम काठमाडौँ–२ बाट निर्वाचित भएका छन्।
प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा निकटतम प्रतिस्पर्धीका रूपमा पराजित हुनेमा १५ महिला उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा एक, कर्णाली प्रदेशमा एक, लुम्बिनी प्रदेशमा पाँच, गण्डकीमा एक, बागमती प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा तीन निकटतम प्रतिस्पर्धी महिला उम्मेदवार बनेका छन् । पराजित हुने अधिकांश पूर्वसासंद छन् ।
प्रदेश १
मोरङ निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसकी सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग एक हजार दुई सय आठ मतले पराजित भइन् । उनले ३१ हजार नौ सय ४० मत प्राप्त गरिन् ।
सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ जनता समाजवादी पार्टीका अशोक राईको निकटतम प्रतिस्पर्धी बनिन् । मतगणनाका क्रममा केही समय अग्रता लिएकी तामाङ अन्तिम मतपरिणाममा भने चार सय ५३ मतान्तरले राईसँग पराजित भइन्। उनले १६ हजार छ सय छ मत प्राप्त गरिन् ।
एमालेकी मञ्जुकुमारी चौधरी उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्कासँग पराजित भएकी छिन् । डा खड्कासँग दुई हजार तीन सय ७९ मतान्तरले चौधरी पराजित भएकी थिइन् ।
मधेश प्रदेश
सिरहा–२ मा जनता समाजवादी पार्टी (जसपा) का राजकिशोर यादवसँग कांग्रेसकी चित्रलेखा यादव एक हजार एक सय ५० मतान्तरले पराजित भइन् । चित्रलेखाले २३ हजार २८ मत प्राप्त गरिन् ।
कर्णाली प्रदेश
जुम्ला–१ मा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीको निकटतम प्रतिस्पर्धी बनिन् । उनले ११ हजार नौ सय ५९ मत प्राप्त गरेकी थिइन् भने शाहीले २२ हजार आठसय १९ मत प्राप्त गरेकी थिइन् ।
लुम्बिनी प्रदेश
दाङ–१ मा एमालेकी शान्ता चौधरी नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीको निकटतम प्रतिस्पर्धी बनिन् । शान्ता मेटमणिसँग पाँच हजार ८३ मतान्तरले पराजित भइन् । शान्ताले २१ हजार चार सय ९३ मत प्राप्त गरेकी थिइन्।
दाङ–३ मा एमालेकी कोमल वली कांग्रेसका दीपक गिरीको निकटतम प्रतिस्पर्धी बनिन् । गिरी ३६ हजार नौ सय ११ मतसहित निर्वाचित भइन् । गिरीसँग सात हजार आठ सय १९ मतले वली पराजित भइन् ।
प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल एमालेका सूर्यबहादुर थापा क्षेत्रीसँग पराजित भइन् । थापा ४१ हजार एक सय १८ मत ल्याई निर्वाचित हुँदा पाँच हजार तीन सय चार मतान्तरले पौडेल पराजित भइन् । पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गरेकी थिइन् ।
अर्घाखाची–१ मा कांग्रेसकी पुष्पा भुसाल (गौतम) एक हजार सात सय ३० मतले एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन् । भुसालले ४० हजार नौ सय ४५ मत प्राप्त गरेकी थिइन् ।
गुल्मी–२ मा नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्री एमालेका गोकर्णराज विष्टसँग दुई हजार ३५ मतान्तरले पराजित भइन् । झाँक्रीले २६ हजार चार सय ४१ मत प्राप्त गरे।
गण्डकी प्रदेश
बागलुङ–२ मा एमालेकी मञ्जु शर्मा चार हजार छ सय एक मतान्तरले माओवादी केन्द्रका देवेन्द्र पौडेलसँग पराजित भइन् । शर्मा २० हजार एक सय ९३ मत प्राप्त गरी पौडेलको निकटतम प्रतिस्पर्धी थिइन् ।
बागमती प्रदेश
मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भए । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) दुई हजार तीन सय ८६ मतान्तरले राप्रपाका सिंहसँग पराजित भइन् ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर–१ मा एमालेका तारा लामा तामाङ निर्वाचित भइन् । उनको निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगर थिइन् । पाँच हजार पाँच सय ४३ मतान्तरले पराजित भएकी मगरले १९ हजार चार सय मत प्राप्त गरिन् ।
कन्चनपुर–३ मा कांग्रेसका रमेश लेखकसँग एमालेकी निरुदेवी पाल १२ हजार ९० मतान्तरले पराजित भइन् । डोटी–१ मा एमालेकी गौरीकुमारी ओली, एकीकृत समाजवादीका प्रेमबहादुर आलेसँग चार हजार दुई सय छ मतान्तरले पराजित भइन्।
‘आन्तरिक सङ्गठन बलियो भएन’
एमालेकी गौरीकुमारी ओली भन्छिन्, “मैले जति मत पाएकी छु त्यो जनताले स्वःस्फूर्त दिएको मत हो । म उहाँहरूको मनमा बस्न सफल भएको छु ।” सोही पार्टीकी कोमल वली मतदाता शिक्षाका अभावमा बदरमतको कारण पनि आफ्नो मत काटिएको बताउँछिन् ।
पराजित भएपछि निर्वाचन समीक्षा गर्दै एमालेकी पाल भनन्छिन्, “मेरो हारको मुख्य चुनौती गठबन्धन बन्योे ।”
गठबन्धनका तर्फबाट कांग्रेसकी पराजित कोइराला भन्छिन्, “गठबन्धन भित्रबाटै सहयोग भएन, आन्तरिक सङ्गठनहरू बलियो भएन । मलाई गठबन्धनका सबै दलबाट भोट प्राप्त भएन ।” सोही पार्टीकी यादवले भनिन् “गठबन्धनभित्रका साथीहरूबाट नै मत पाइनँ । हामीले सुरुमा आकलन गरेको गठबन्धनको मतले मेरो जित सुनिश्चित थियो । मैले उहाँहरूलाई विश्वास गरेँ । अन्तिममा भित्रबाटै धोका भयो ।”
राष्ट्रिय स्वतन्त्र पार्टीका तामाङले निर्वाचनमा पहिलोपटक उम्मेदवार हुँदा जनताले विश्वास गरेर आफूलाई दिएको मत महत्वपूर्ण रहेको बताइएन् ।