जाजरकोट जिप दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो



जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ नगरपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही नगरपालिका वडा नम्बर ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् ।


त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नम्बर ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निसा अधिकारी र सोही नगर वडा नम्बर ६ वीरबहादुर खत्रीको मृत्यु भएको नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जीप छेडागाड नगरपालिका वडा नम्बर ३ जेवाबाट सोही नगरको वडा नम्बर ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।

जीपमा सवार १२ जनामध्ये छेडागाड–५ का जैभान अधिकारी गम्भीर घाइते भएका छन् । घाइते जैभानको उपचारका लागि नेपालगञ्ज पठाइएको उपप्रमुख चन्द्रबहादुर थापालले जानकारी दिए ।