चार प्रकारका बस्तु आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय



काठमाडौँ । सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

यसअघि आयातमा प्रतिबन्ध लगाइएका यी ४ प्रकारका वस्तुको आयात खुलाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जानकारी दिएका छन् । यसअघि मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको प्रतिबन्ध खुलाउन सिफारिस गरेको थियो ।


मंसिर २९ गतेपछि आयात खुल्ने मन्त्री बडूले बताए । विदेशी मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाखदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो ।

तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बाँकी ४ प्रकारका बस्तुहरु निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।