काठमाडौँ । ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रुपमा भारतीय निर्देशक प्रकाश झा परिचित छन् । निर्मातासँगै केही समययता अभिनेताको रुपमा समेत प्रस्तुत भएका झाले वृत्तचित्रको सन् १९७५ मा सुरुवात गरेका थिए । भारतको विहारमा हुर्किएका झा भारतीय चलचित्र उद्योगमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् ।
नेपालसित सीमा जोडिएको क्षेत्रमा हुर्किएका झा दोस्रो पटक नेपाल आएका हुन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणमा सहभागी हुन उनी पहिलो पटक काठमाडौँ आएका थिए भने दोस्रो पटक काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा सहभागी भएर केही दिनअघि भारत फर्किएका छन् ।
‘गङ्गाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’, ‘आरक्षण’ चलचित्र निर्देशन गरिसकेका झाले दर्शकले बुझ्ने भाषामा चलचित्र बनाउनुपर्ने बताए ।
“व्यावसायिक जोखिम कम गर्दै कलात्मक चलचित्र बनाउने कोसिसु गर्नुपर्छ । चलचित्र भनेको व्यवसाय हो, त्यसैले हलसम्म आउने दर्शक तपाईको कामबाट सन्तुष्ट हुनुपर्छ । कलात्मक अभिव्यक्तिका लागि चलचित्र बनाउने गरेका छौँ भन्ने सोच छ भने त्यो भ्रम हो”, निर्देशक झाले भने, “मैले दर्शकका लागि गङ्गाजल र राजनीतिजस्तो चलचित्र बनाएको छु ।”
निर्देशक झा सुरुवाती समयमै ‘दामुल’, ‘परिणति’, ‘मत्युदण्ड’जस्ता चलचित्रले प्रशंसा बटुल्न सफल भए । तर अर्को काम गर्न आर्थिक लाभ दिन नसकेको उनीसित सम्झना छ । ती चलचित्रले उनको कामलाई चिनाउन सके पनि आम दर्शकलाई बुझ्न गाह्रो भयो । त्यही समस्या अहिले पनि भारतीय चलचित्र उद्योगमा उनले देखेका छन् । कथावस्तुमा मेहनत नगरिनु यसको मुख्य कारण झा ठान्छन् ।
“कथावस्तु छाडेर प्रोजेक्ट बनाइरहनु गल्ती हो”, उनले भने, “पहिला कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तुसँगै कलाकारको चयन निर्देशकले गर्थे । अहिले हाउसले नै स्टारको समयअनुसार चलचित्रको योजना बनाइरहेका छन् । कथामा नभई स्टारमा लगानी भइरहेको छ । त्यसैले अहिले प्रोजेक्ट बनिरहेको छ”, निर्देशक झाले भने ।
‘आश्रम’ नामक वेबसिरिजमार्फत ओटिटीमा प्रवेश गरेका निर्देशक झाले चलचित्र मन्दिरकै लागि ‘धर्म क्षेत्र’ र ‘जनादेश’ चलचित्रमा काम गरिरहेको जानकारी दिए ।
“मेरो चलचित्रले कथा भनेका हुन् । त्यसले कुनै बहस अगाडि ल्याओस् भनेर म बनाउदिन तर आफूलाई लागेको कथा भन्छु । मेरो शैली भने फरक छ”, निर्देशक झाले भने, “कुनै चलचित्रमा प्रेमी र प्रेमिकाको बिछोडको कारण धनी र गरिबबीचको खाडल हुनसक्छ तर मैले त्यहाँ वैचारिक द्वन्द्व र सामाजिक सभ्यतालाई देख्छु । मैले सोच्ने र बुझ्ने कथा अन्यभन्दा फरक हुन् सक्छन् ।”
भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाइसकेका निर्देशक झाले व्यवस्थाविरुद्धको आक्रोश चलचित्रमार्फत नै ल्याएको स्वीकारे । “मैले नेता बनेर भन्न चाहेका तथ्यलाई चलचित्रमार्फत भनेको हुन सक्छु । किनकी चलचित्रकर्मी सरकारको विपक्षीको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ”, उनले भने ।
नेपाली चलचित्र र चलचित्रकर्मीसँग नजिक रहेका निर्देशक झाले आफ्नो आँखाले धेरै नेपाली कथा देखिरहेको बताए । यद्दपि, उनी नेपाली चलचित्र निर्देशन गर्ने कुनै योजनामा भने तत्काल छैनन् । नेपाली चलचित्र निर्देशकसँग सहकार्य गर्नसक्ने विषय भने उनी नकार्दैनन् ।
“मैले यहाँको कथा भन्न सक्दिन । किनकी मैले अहिलेसम्म आफ्नो ठाउँबाहेक अन्यन्त्रको कथा भनेको छैन तर, नेपाली चलचित्रकर्मीसँग नजिक भएर काम गर्न सक्छु । मेरो चलचित्रप्रतिको बुझाइलाई उहाँहरूले प्रयोग गर्नसक्नु हुन्छ”, निर्देशक झाले भने, “हाम्रैझैँ कथा र पटकथाको समस्या यहाँ पनि छ जस्तो लाग्छ । प्राविधिक झैँ कथावस्तुमा पनि मेहनत आवश्यक छ ।” उनको टोलीले केही नेपाली विषयवस्तुमा सहकार्य गर्ने गरी काम गरिरहेको जानकारी दिए ।
नेपाली चलचित्रलाई विश्वभर लैजाने सन्दर्भलाई उनी विषयवस्तुसित जोड्छन् । “विश्वव्यापी विषयवस्तु नल्याउँदासम्म दर्शक पाउन सक्दैनौँ । स्टारको सट्टा विषयवस्तुमा मेहनत गर्नुस्”, निर्देशक झाले भने ।