किरात समुदायको ऐतिहासिकस्थल ‘प्रिमाकोटगढी’ ओझेलमा



खोटाङ । रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित किरात समुदायको ऐतिहासिकस्थल प्रिमाकोटगढी ओझेलमा परेको छ ।
किराती राजा कुम्राहाङले शासन गरेको किराँत समुदायको ऐतिहासिक र साँस्कृतिक महत्व बोकेको प्रिमाकोटगढी प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेको हो ।

घोप्ट्याएको पाथी आकारको डाँडामा रहेको प्रिमाकोटगढी देउरालीडाँडाबाट जङ्गल र झाडी पार गर्दै पुगिन्छ । जङ्गलबीचमा दुईतिर बङ्करको अवशेष रहेको छ ।


अग्लो डाँडामा रहेको दुई बङ्करका बीचमा अवशेषको रुपमा रहेको दरबारको चरको ढुङ्गा यत्रतत्र छरिएर रहेका छन् । गढी आसपासमा रातो माटो झिक्नेक्रममा कहिलेकाहीँ खिया लागेका तीर भेटिने गरेको स्थानीय सुरेन्द्र राई बताउँछन् ।

प्रिमाकोटगढीमा हाल घुमफिर र अवलोकनका लागि स्थानीय बासिन्दा पुग्ने गरेका छन् । प्रिमाकोटगढीबाट रावाफाँट, हिमाली शृङ्खला, लामिडाँडा विमानस्थललगायतका ठाउँ अवलोकन गर्न सकिन्छ ।

स्थानीय अगुवाका अनुसार प्रिमाकोटगढी र डुम्रेकोटगढीका राजाबीचमा भएको युद्धमा चतुर प्रिमाकोटगढीका राजा कुम्राहाङले युद्धको अघिल्लो दिन छाला जुत्ता व्यापारी ९सार्की०को भेषमा सुराकी पठाएका थिए ।

रीको रुपमा डुम्रेकोटगढी पुगेका सुराकीले त्यहाँका सेनाले लडाइँका लागीतयार गरेका बन्दुकमा राति पानी हालेर भागेको थिए । अर्कोदिन लडाइँमा डुम्रेकोटगढीतर्फका सेनाको एउटा पनि बन्दुक नपड्केको र धनुषवाणको भरमा लड्दा प्रिमाकोटगढीका सेनासँग पराजित भएको इतिहास रहेको छ ।

किराँतको बसोबास रहेको प्रिमाकोटगढी आसपासमा क्रमशः खसक्षेत्री समुदायको बस्ती बढ्दैगएपछि यो गढीलाई देउरालीडाँडा भनेर पनि चिनाइएको छ ।

किराँत समुदायले नै देउराली भन्न थालेपछि प्रिमाकोटगढीको ऐतिहासिकता झनै ओझेलमा पर्दै गएको स्थानीय तुलबहादुर राईले बताए । ‘प्रिमाकोटगढीलाई देउरालीडाँडा भनेर चिन्न थालियो’, उनले भने, ‘किराँत समुदाय आफैले पनि गढीको बारेमा बिस्तृत रुपमा बुझ्न चाहेनन् । यसको संरक्षण गर्न पहल गरेनन् । यही कारण पनि ऐतिहासिक गढी ओझेलमा पर्दै गएको हो ।’

ऐतिहासिक पहिचानसँग जोडिएको गढीको उत्थान र संरक्षणमा हालसम्म औपचारिक रुपमा कुनै योजना बनेको छै्रन । गढीको प्रवद्र्धन गर्दै गाउँपालिकाकै पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर, यसतर्फ कसैको ध्यान पुगेको छैन ।

ओझेलमा परेको प्रिमाकोटगढी, भूमेथान र ऐतिहासिक सुरुङ कुलोलाई समेटेर पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष चिरञ्जिवी कार्की बताउँछन् । उनले भने, ‘यो किराँत समुदायको ऐतिहासिक ठाउँ हो । यहाँ किराँत सँस्कृति झल्काउने संरचना बनाउने योजनामा छौँ । दूधकोसी जलाशययुक्त आयोजना बनेपछि जमेको ताल हेर्नसमेत यो ठाउँ उपयुक्त बन्नेछ ।’

हौँचुरमा रहेको प्रिमाकोटगढी, भूमेथान, जुडी महादेव मन्दिर र ऐतिहासिक सुरुङ कुलो लगायत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्ने तयारी गरिएको वडाध्यक्ष कार्कीले बताए । पर्यटकीयस्थलको डिपिआर गरेर प्रवद्र्धनको काम सुरु गरिने वडाध्यक्ष कार्कीको भनाइ छ ।