उद्यमी र किसान नै मुलुकको आर्थिक विकासको मेरुदण्ड : राष्ट्रपति



रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।

आजदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न सबैको ध्यानाकर्षण गराइन् ।


स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गरिदिनु राज्यको गहन जिम्मेवारी भएको उनको भनाइ छ ।

राष्ट्रपति भण्डारीले वर्तमान अवस्थामा देशको राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको भन्दै व्यापार घाटा र आयातमाथि हाम्रो निर्भरता विस्तारले विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको बताइन् । यी चुनौतीबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्ने उनको जोड छ ।

उनले भनिन्, मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक छ ।’

हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई उत्प्रेरित गर्न उद्योगी–व्यवसायीसँग मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताइन् ।

‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने अत्यन्त सामयिक विषयवस्तुका साथ आयोजना गरिएको यस प्रदर्शनीले विगत करिब तीन वर्षदेखि कोभिड–१९ महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुर्याउने उनले विश्वास व्यक्त गरिन् ।

हाम्रो सभ्यताले विकास गरेका प्राचीन शास्त्रहरूले ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया’ को परिकल्पना गरेको बताउँदै उनले जसमा हरेक व्यक्तिलाई सुखी रहनका निम्ति निरोगी र उद्यमशील हुन आवश्यक पर्ने सन्देश अन्तर्निहित रहेको बताइन् ।