इस्तानबुलमा बस र ट्राम ठोक्किँदा १९ जना घाइते



टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा सोमबार बिहान भीडभाडको समयमा सार्वजनिक यातायातको बस र ट्राम ठोक्किँदा कम्तीमा १९ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । डेमिरोरेन समाचार एजेन्सीका अनुसार उक्त बस शहरको युरोपेली भागमा रहेको इयुपसुल्तान जिल्लास्थित रेलवे मार्ग पार गर्ने क्रममा दुर्घटना भएको हो।

घटनास्थलमा एम्बुलेन्स र अग्निनियन्त्रकहरू उद्दारका निम्ति पुगेका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। बस र ट्राम दुबै यात्रुहरूले भरिएका थिए । दुर्घटनाले बसमा ठूलो क्षति पुर्याएको छ भने सो समयमा सडकमा गुडिरहेको एउटा अर्को गाडीमा समेत क्षति पुगेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।