सरकार गठन गर्ने विषयमा सबै विकल्प खुला राख्ने माओवादीको निर्णय



काठमाडाैँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सरकार गठनका लागि विभिन्न विकल्पहरू खुला रहेको स्पष्ट पारेको छ । शनिबार (आज) अपराह्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरूसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने प्रस्ट्याएको हो । 

सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए ।


बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष महराले भने, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो । अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकिएन भन्ने समीक्षा भयो । समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो । दोस्रो, बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन । र, अन्य विकल्प पनि खुला राखिएको छ । विभिन्न विकल्पमा जान सकिन्छ । तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय पनि गरिएको छैन ।’