काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।
भेटमा प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउन देउवासमक्ष औपचारिक प्रस्ताव राखेका हुन् । अध्यक्ष प्रचण्डले गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।
यसअघि विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीमा आफ्नो दावी रहेको बताएका प्रचण्डले आज भने देउवासमक्ष पहिलोपटक औपचारिक प्रस्ताव राखेका हुन् । जवाफमा देउवाले गठबन्धन दलबीच छलफल गर्ने बताएको स्रोतले जनाएको छ ।
यता प्रधानमन्त्री देउवा स्वयम् आगामी पाँच वर्ष प्रधानमन्त्रीको नेतृत्व गर्ने दाउमा छन् । उनले औपचारिक रुपमा कतै यो विषयमा धारणा नराखे पनि आफ्ना निकट नेताहरूसँग यो अन्तिम पटक आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउँदै आएका छन् । काँग्रेसभित्रै महासचिव गगन थापाले पनि प्रधानमन्त्रीका लागि दावी गर्दै आएका छन् ।