अमेरिकास्थित नेपाली दूतावासले संकलन गरेको ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटियो



काठमाडौँ । अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सवारीसाधनमा लुटपाट भएको छ । त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट संकलित ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको हो ।

दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन सहरमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीले शूल्कवापत बुझाएको मनी अर्डर र क्यासियर चेकसहित दूतावासका कर्मचारीहरू २२ डिसेम्बरमा ह्युस्टनबाट बासिङ्टन डिसीतर्फ गइरहेका थिए । त्यसक्रममा बिहीबार दिउँसो १२ बजे पार्किङमा राखिएको दूतावासको सवारीसाधन तोडफोड गरी लुटिएको हो ।


उक्त घटनापछि तत्काल ‘ह्युस्टन पुलिस डिपार्टमेन्ट’ तथा ‘डिप्लोमेटिक सेक्युरिटी डिभिजन’लगायतका सुरक्षा निकायमा उजुरी गरी लुटिएको मनी अर्डर र क्यासियर चेक फिर्ता लिने प्रयास भइरहेको दूतावासले जनाएको छ ।