कञ्चनपुर । ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले मङ्गलबार कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिलबुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाए ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँकै विद्यालयमा पढ्दा आफू भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको यात्राको अनुभव सुनाए। “कक्षा ८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल बनाएर खेल्थे”, विष्टले विद्यार्थीमाझ भने, “सुदूरपश्चिम कीर्तिमानी खेलाडी जन्माएको भूमि हो ।”
ओलम्पिक पुग्ने खेलाडी स्कुलस्तरबाटै आउने गरेको ओलम्पियन विष्टले बताए । “आइएस्सी पढ्न महेन्द्रनगर आउँदादेखि यहाँको अपार मायाको सम्झना आइरहन्छ”, उनले भने, “खेल प्रतिस्पर्धाका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिक्कै आवश्यक छ ।” स्वस्थ्य व्यक्ति जुनसुकै क्षेत्रमा पनि सफल हुने भएकाले २४ घण्टामा एक घण्टा भए पनि खेलकुदलाई दिनुपर्नेमा ओलम्पियन विष्टले जोड दिए ।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कीर्तिमानी चार स्वर्ण जितेका विष्ट सन् २०१० मा बङ्गलादेशमा भएको ११औँ सागपछि रिङमा उत्रिनुभएको छैन । विद्यार्थीलाई अनुभव सुनाउने क्रममा ओलम्पियन विष्टले आफूले एसियाली खेलकुदमा दुई काश्य जित्दाको अनुभव सुनाए ।
त्यसैगरी सन् १९८८ दक्षिण कोरियाको सिउल ओलम्पिकमा बक्सिङ खेलमा सुदूरपश्चिमबाट विष्णुबहादुर सिंह र डम्बरदत्त भट्ट तथा एथ्लेटिक्सतर्फ डम्मर कुँवर र भारत्तोलनमा भरत सावदले भाग लिगेका थिए । तीन दशकअघिको उक्त ओलम्पिकमा मुलुककै प्रतिनिधित्व गर्दै ओलम्पिकको यात्रामा निस्कनु बक्सर सिंह र भट्टलाई निकै चुनौतीपूर्ण थियो । सिउल ओलम्पिकसँगै २१–२१ अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी यी दुई बक्सर आफ्नो समयमा आफ्नो तौलसमूहका चर्चित पदकधारी हुन् ।
ओलम्पियन भट्टले २०३९ सालमा कक्षा ७ पढ्दा नै बक्सिङ खेल्न थालेका थिए । “अधिकांश समय खेलकुदमै वित्न थालेपछि कक्षा १० मा मात्र तीन पटक अध्ययन गरेँ”, ओलम्पियन भट्टले भने, “पढाइसँगै खेलकुदलाई अघि बढाउँदा आज यो अवस्थामा आइपुगे ।”
हाल जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा बक्सिङ प्रशिक्षकका रुपमा कार्यरत ओलम्पियन भट्टले स्कुलस्तरमा खेलकुद गतिविधि बढाएमात्रै प्रतिभावान खेलाडी उत्पादन गर्न सहज हुनेमा जोड दिए । “ओलम्पियन नै स्कुलस्तरबाटै आउने खेलाडी हुन्”, उनले भने, “यसतर्फ नै पहल हुनुपर्छ ।” उनले ओलम्पिक, १३औँ र १४औँ एसियाली खेलकुददेखि युरोपियन च्याम्पियनसिपसम्म खेलेको अनुभव विद्यार्थीलाई सुनाए ।
अर्का बक्सिङ ओलम्पियन सिंहले पनि २०४० सालमा कक्षा ८ पढ्दादेखि बक्सिङ खेलमा लागेको बताए। “पढाइसँगै खेलमा लागेर ओलम्पिकसम्म पुगेँ”, उनले भने, “लगनशील भएर खेलसँगै पढाइलाई पनि निरन्तरता दिने माहोल अहिलेको पुस्तालाई आवश्यक छ ।”
सुदूरपश्चिमका तीन ओलम्पियनसँगै मङ्गलबार यहाँ आयोजित ‘स्कुल टु ओलम्पिक अभियान’का क्रममा ओलम्पियन तथा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलगायत सात ओलम्पियनले आफ्नो खेल जीवनका अनुभव सुनाए । उनिहरुसँगै राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल ओलम्पियन सङ्घको संयोजनमा भएको उक्त कार्यक्रममा महिला ओलम्पियन देवु थापा, प्रमिला रिजाल र दीपक श्रेष्ठले पनि आ–आफ्ना अनुभव सुनाएका थिए । सुदूरपश्चिमदेखि सुरु भएको स्कुल टु ओलम्पियन कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन हुनेछ ।