सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदै बेलडाँडी गाउँपालिका



कञ्चनपुर । बेलडाँडी गाउँपालिकाले सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउने कार्य सुरु गरेको छ । डोजर प्रयोग गरी गाउँपालिकाले शनिबारदेखि अतिक्रमण गरिएको जग्गा खाली गराउन थालेको हो ।

पन्ध्र शैय्याको अस्पताल निर्माणका लागि सार्वजनिक जग्गाको अतिक्रमण हटाउन थालेको गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बताए । “गत साउन महिनामै ३५ दिने सूचना प्रकाशन गरी अतिक्रमण हटाउन भनेका थियौँ”, उनले भने, “त्यसपछि मङ्सिरमा सात दिने सूचना जारी ग¥यौँ । अतिक्रमण नहटाइएपछि डोजरको प्रयोग गरी हटाउन थालेका हौँ ।”


उनका अनुसार सार्वजनिक अतिक्रमणको चपेटामा परेको एक बिघा १७ कठ्ठा जग्गाको अतिक्रमण हटाइन लागेको छ । “अस्पतालका भौतिक संरचना निर्माणका लागि ठेक्का आह्वानको कार्य भइसकेको छ” उनले भने, “तत्काल जग्गाको अतिक्रमण हटाउनुपर्ने भएकाले यस कार्यमा लागेका छौँ ।”

गाउँपालिकामा ७२ बिघा जग्गा ग्रिन बेल्टको अतिक्रमणका परेको छ । गाउँपालिका उपाध्यक्ष शान्ति नाथले अस्पतालका लागि मात्रै नभएर अतिक्रमणमा परेको पूरै जग्गाको अतिक्रमण हटाउनुपर्ने अडान लिएका हुन् ।