काठमाडौँ । अटोमोवाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोवाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखी सडक आन्दोलन घोषणा गरेको हो ।
सरकारले अटोमोवाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि त्यसलाई हटाउन दवाव दिने उद्देश्यले आफूहरु आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनु परेको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए ।
उनले आफूहरुको गाडी र शो रुममा ब्यानर राखेर तथा सामाजिक सञ्जालमा पनि सामग्रीहरु पोष्ट गरेर आन्दोलनको कार्यक्रम सुरु गरिएको र यही मंसीर २२ गते काठमाडौंको माइतीघर मण्डलामा ३ घण्टा धर्ना र सबै प्रदेशमा पनि सोही दिन विरोध प्रदर्शन गर्न लागिएको बताए ।
नाडाले आन्दोलनमा साथ दिन पनि सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेको छ । अटोमोबाइल व्यवसायीहरुले ब्याजदरमा कटौती, कोरोनाकालमा संकटमा परेका व्यवसायीहरुलाई राहतको व्यवस्था, अटोमोवाइल्सको प्रतिबन्ध फुकुवा हुनुपर्ने लगायतका माग राखी आन्दोलन सुरु गरेका हुन् ।