काठमाडौँ । नेपाल वायुसेवा निगममा क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् । निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुने गर्दछ यसैक्रममा दुई जना एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
निगम मातहतका नेपाल वायुसेवा क्याबिन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । आन्दोलनका कारण अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् । बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।
निगममा १५ वर्ष सेवा गरेका क्याबिन क्रुको सेवा करार नवीकरण नभएको संघले जनाएको छ ।
करारका क्याबिन क्रुले आफ्नो कामकाज ठप्प पारेपछि दश–बाह्र जना स्थायी क्याविन क्रुको सहयोगमा विमान उडाउने काम भइरहेको छ ।