मकै पोलेर जीविका चलाउँदै



मध्यबिन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटको व्यस्त सडक । सडक छेउ त्रिपाल टाँगेर बनाइएका टहरामा करिब २५ घर परिवार बस्छन् । उनीहरुको दैनिकी मकै पोलेर बिक्री गर्दै बित्छ । 

गैँडाकोटको सडक छेउमा छाप्रोभित्र मकै पोल्दै छिन् गैँडाकोट-७ का पिङ्की दराई । उनी विगत पाँच वर्षदेखि यसैगरी मकै पोलेर जीविका चलाउँदै आएकी छिन् । मकै पोलेरै परिवारको खर्च धानिरहेकी छिन् । 


‘छोराछोरीकालाई दिनुपर्ने पैसाका लागि पहिले बुढासँग माग्नुपथ्र्यो तर अहिले पर्दैन’, उनले भनिन्, ‘खर्च कटाएर दैनिक एक हजारदेखि तीन हजारसम्म जम्मा गर्न सक्छु ।’

गैँडाकोट नगरपालिका मकै पकेट क्षेत्रका रूपमा परिचित छ । यहाँ पोलेको मकै बेच्ने सबै जनाले नगरभित्रका विभिन्न स्थानबाट हरियो मकै खरिद गर्ने गर्दछन् । खाली समयको सदुपयोग गर्दै सुरु गरेको व्यापारबाट आम्दानी राम्रो हुन थालेपछि २७ वर्षीय जुना परियार खुसी छिन् । 

सडक छेउमा मकै पोलेर अन्यले राम्रो आम्दानी गरेको र हरियो मकै नगरभित्रै खरिद गर्न पाएपछि जुनाले मकै पोल्ने पेसा सुरु गरेकी हुन् । गैँडाकोट नगरपालिका–६, ७ र ९ नं वडालाई मकैको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । बाह्रैमासे मकै राम्रो उत्पादन हुने भएकाले पनि यहाँका स्थानीय मकै व्यापारमा आकर्षित भएका छन् ।