काठमाडौँ । सरकार गठनका लागि दलहरूबीच कसरत भइरहेका बेला प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समयमा निर्णय लिन दलका नेताहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीमा इच्छा देखाइरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्णय गर्न ढिला गरेको ओलीको भनाइ छ ।
एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएजस्तो आफूले देखेको तर्क समेत गरे । प्रधानमन्त्री हुने इच्छा दाहालले व्यक्त गरिरहेको उल्लेख गर्दै त्यस सम्भावनालाई समयले नै समाप्त पारि दिएको ओलीले बताए ।
अध्यक्ष ओलीले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो । निर्णय गर्न ढिलो गर्नुभयो । संस्कृतिमा एउटा भनाई छ–आदेश्य, प्रदयेश्य, कर्तव्यश्य करुणा । छिप्रणा क्रिमानष्य कालति प्रवशम भन्ने एउटा नीति श्लोक छ । त्यो भनेको लिनुपर्ने कुराको, दिनुपर्ने कुराको, गर्नुपर्ने काम जेजस्ता छन्, ती समयमै गर्नु पर्दछ । भएन भने, होइन भने, समयमा कुनै काम गरिदैन भने समयले नै त्यसको उपलब्धिलाई समाप्त पारिदिन्छ । समयले नै त्यसको फल खाइदिन्छ । यदि तपाईले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैँ झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाइदा समयले खाइदिन्छ । त्यस्तै हुने अव उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन । अरूले पनि समयमा कदम चालेनन् भने समयमा आफू आफूलाई मात्रै हेरे भने देश फेरी घुमी फिरीकन मध्यावधितिर जाने त्यो सम्भावना पनि छँदैछ । जाँदैन भन्न सकिँदैन । किनभने सरकार गठन नै हुन सकेको छैन स्वार्थको टकरावले भने अनि सञ्चालन कसरी होला ? नेकपा एमाले मात्रै हो हैसियत छ । राष्ट्रिय स्वार्थ बाहेक दलगत स्वार्थ छैन ।’