काठमाडौँ । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।
सोमबार संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई उद्योग मन्त्रालय दिने निर्णय गरेको हो । जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीलाई कृषि वा उद्योग मन्त्रालय मागेका थिए ।
अध्यक्ष राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त गरेको बताए ।
सत्ता गठबन्धनको बैठकपछि राउतले भने, ‘हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।’ यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि राउतले आफू सरकारमा नजाने बताए ।
जनमत पार्टीबाट प्रतिनिधिसभामा ६ जना सांसद छन् । आज चार बजे नवनियुक्त मन्त्री तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ लिँदैछन् ।