चीनबाट आउने यात्रुलाई अमेरिकामा अनिवार्य कोभिड परीक्षण



अमेरिकाले चीनबाट आउने यात्रुहरूले अनिवार्य रूपमा कोभिड परीक्षण गर्नुपर्ने नियम लागु गर्ने भएको छ । यो नियम जनवरी ५ बाट कार्यान्वयनमा आउनेछ ।

अमेरिकाले जनवरी ५ तारिखबाट चीन, हङ्कङ र मकाऊबाट आउने सबै यात्रुले अमेरिका भित्रिनुअघि कोभिड नभएको पुष्टि गर्नुपर्ने बताएको छ ।


कोरोनाभाइरस सङ्क्रमण उल्लेख्य रूपमा बढिरहेको भए पनि चीनले आफ्नो सीमा पुनः खुला गर्ने घोषणा गरेसँगै अमेरिकाले नयाँ नियमको घोषणा गरेको हो ।

चीनका छिमेकी देश भारत, जापान र ताइवान तथा इटलीले पनि कोभिड परीक्षणलाई अनिवार्य बनाएका छन्। तर अस्ट्रेलिया र बेलायतले चीनबाट आउने यात्रुका लागि त्यस्तो नियम नभएको बताएका छन् । कोभिड महामारी सुरु भएको तीन वर्ष चीन बाह्य विश्वका लागि बन्द रह्यो ।

उसले नयाँ वर्षको दोस्रो सातादेखि मानिसहरूलाई अझ सजिलोसँग यात्रा गर्न दिन लागेको छ । चीनका विदेश मन्त्रालयका प्रवक्ताले चीनको कोभिड नीतिको व्यवस्थापनबारे पश्चिमा देश र सञ्चारमाध्यमहरूले बढाइचढाइ गरेको बताएका छन् ।

चीनमा कोभिडको अवस्था पूर्वानुमान गरे जस्तै रहेको र नियन्त्रण गर्न सकिने स्थितिमा रहेको उनको दाबी छ । अहिले चीनमा कोभिडका बिरामीहरूको सङ्ख्या बढेको छ जसका कारण केही देशले कोभिडसम्बन्धी आफ्ना नियम पुनर्विचार गर्दैछन् ।

यद्यपि बेइजिङले भने कोरोनाभाइरस नियन्त्रणका लागि नियमहरू वैज्ञानिक आधारमा ल्याइनुपर्ने जनाएको छ । यो साता दैनिक ५ हजार जनालाई कोभिड पुष्टि भएको सरकारी तथ्याङ्कले देखाउँछ।

तर विश्लेषकहरूले सङ्क्रमित मानिसको सङ्ख्या त्योभन्दा धेरै भएको र सक्रिय सङ्क्रमितको सङ्ख्या १० लाखको हाराहारीमा हुनसक्ने जनाएका छन् । ठूला सहरहरूमा बिरामीको ठूलो चाप छ र मानिसहरूेल सामान्य औषधि पाउन पनि निकै सङ्घर्ष गर्नुपरेको विवरणहरू प्रकाशित भएका छन् ।