विराटनगर । विराटनगर महानगरपालिकामा दर्ता भएको प्रमाणपत्र लिएर मात्रै व्यवसाय र फर्मलाई ऋण प्रवाह गर्न यहाँका वाणिज्य बैंकहरू तयार भएका छन् ।
आन्तरिक आम्दानीलाई बलियो बनाउने अभियान अन्तर्गत महानगरले वाणिज्य बैंकका प्रादेशिक कार्यालयका प्रमुखलाई बोलाएर आज छलफल गरेको छ । छलफलमा महानगरको आग्रहलाई स्वीकार्दै बैंकका प्रादेशिक प्रमुखले अबदेखि ऋण प्रवाह गर्दा महानगरमा व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्ने प्रतिबद्धता जनाएका छन्।
उनीहरूले विराटनगरको विकास र समृद्धिमा सहयोग गर्न आफूहरू तत्पर रहेको बताए । छलफलमा महानगरभित्र सञ्चालित २१ वटा वाणिज्य बैंकका प्रमुखको सहभागिता थियो । महानगरको करवृद्धि, पार्किङ व्यवस्थापन, सामाजिक उत्तरदायित्व बहन गर्ने उनीहरूले सामूहिक प्रतिबद्धता जनाए ।
सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकहरूले गर्ने खर्च महानगरपालिकासित समन्वय र सहकार्य गरेर सञ्चालन गर्नसमेत वाणिज्य बैंकका प्रमुखहरू सहमत भएका छन् । छलफलमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरको आन्तरिक आय बढाउन कर सङ्कलन अभियान सञ्चालन भइरहेको जानकारी दिए ।
उनले विराटनगर सबैको भएकाले महानगरको अभियानमा साथ दिन आग्रह गर्दै भने, “बैंकहरूले हाल वाणिज्य कार्यालयमा दर्ता भएको प्रमाणपत्रका आधारमा ऋण दिँदै आएका छन् । अबदेखि ऋण दिँदा महानगरमा दर्ता भएको प्रमाणपत्र पनि खोजिदिनु होला ।”
बैंकहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरको सौन्दर्यकरणलगायतमा पनि सहयोग गर्न सक्ने भन्दै प्रमुखले भने “विराटनगर तपाईंहरूको पनि हो, तपाईंहरूले यहाँको सौन्दर्यकरणसँगै एम्बुलेन्स, शवबाहन सहयोग गर्न सक्नुहुन्छ ।” उपप्रमुख शिल्पा निराला कार्कीले बैंकहरूले पार्किङ व्यवस्थापन नगर्दा समस्या भएको प्रतिक्रिया दिए ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरमा स्रोतको अभाव रहेको जानकारी दिँदै आन्तरिक राजस्व कार्यालयसित कुरा गरेर बहाल कर महानगरले नै लिने व्यवस्था मिलाइएको बताए । राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरको पाँच वटा वडामा कर सङ्कलन विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिए ।
आर्थिक वर्ष रु ४९ करोड ७८ लाख आन्तरिक राजस्व सङ्कलन गरेको महानगरले चालु आर्थिक वर्षमा रु ८७ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ ।