उत्तर कोरियाद्वारा दुईवटा छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार



नयाँ वर्षको नीति तय गर्नका लागि प्रमुख राजनीतिक बैठक बस्नु अघि उत्तर कोरियाले दुईवटा छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

स्थानीय समयअनुसार अपराह्न ४ः३२ बजे प्योङयाङको सुनान क्षेत्रबाट मिसाइल प्रहार गरिएको दक्षिण कोरियाका जोइन्ट चीफ अफ स्टाफ (जेसीएस)ले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । यसले दुईवटा मिसाइललाई पानीमा प्रक्षेपण गरेको पनि उल्लेख गरेको छ ।


सन् २०२२ मा मात्रै उत्तर कोरियाले ३६औँ पटक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान कोस्ट गार्डले आप्नो रक्षा मन्त्रालयको जानकारीलाई उदृत गर्दै ब्यालिस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रभन्दा बाहिर खसेको विश्वास गरेको बताएको छ ।

नेता किम जोङ उनको नेतृत्वमा हाल उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको दबाबका बाबजुद आक्रामकरूपमा मिसाइल परीक्षण बढाएको छ । सीएनएमले उल्लेख गरेअनुसार यस वर्षको शुरुमा स्याटेलाइट इमेजरीले यसको भूमिगत आणविक परीक्षण साइटमा विभिन्न गतिविधि देखाएको थियो ।

दक्षिण कोरियाली लडाकु विमानसँग संयुक्त प्रशिक्षणको लागि कोरियाली प्रायद्वीप नजिकै अमेरिकाले आणविक बमवर्षक र उन्नत स्टिल्थ जेट उडान गरेको तीन दिनपछ गरिएको प्रक्षेपणमा उत्तर कोरियाद्वारा कुनै प्रतिक्रिया आएको थिएन । उत्तर कोरियाले यस्तो सैन्य अभ्यासलाई आक्रमणको पूर्वाभ्यासरूपमा बुझ्ने गरेको छ ।