जुम्ला । कीर्तिमानी कर्णालीका स्वर्ण पदकधारी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगञ्ज हुँदै गृहजिल्ला जुम्ला पुगेका बुढालाई खादा र अबिर लगाएर स्वागत तथा सम्मान गरिएको छ ।
बुढालाई स्वागत गर्न जिल्ला खेलकुद विकास समिति जुम्लाका सदस्यसचिव सङ्गीता आचार्यसहित जुम्लाका सरोकारवाला बाजागाजा लिएर जुम्ला विमानस्थलमा पुगेका थिए ।
गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका बुढा प्रथम भएका थिए ।
बुढाले मात्र कर्णाली प्रदेशका लागि पहिलो स्वर्ण पदक जितेका थिए । बुढाले एथलेटिक्सतर्फको तीन हजार मिटर स्टेबल चेस पुरुषतर्फको खेलमा कर्णालीलाई स्वर्ण पदक दिलाएका थिए ।
कास्कीको पोखरामा सम्पन्न प्रतिस्पर्धामा बुढाले एपीएफ क्लबका अजित यादवलाई पछि पारेका थिए । बुढाले निर्धारित दूरी आठ मिनेट ५५ दशमलव १९ सेकेन्डमा पार गरेको बताए ।
बुढाले स्वर्ण पदक मात्रै प्राप्त गरेनन् तीन हजार मिटरको अहिलेसम्मको रेर्कड तोडेको खेलकुद विकास कार्यालय जुम्लाले जनाएको छ ।
धावक बुढाका गुरु गिनिज बुक अफ द वल्र्ड रेकर्डर जुम्लाकै हरिबहादुर रोकायालाई समेत स्थानीय खेलाडी तथा सरोकारवाला निकायले स्वागत गरेका थियो ।
रोकायाको योगदानका कारण दुर्ग बुढा, सुनमाया बुढाजस्ता दर्जनौं खेलाडीले राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा तथा सफलता हासिल गर्दै आएका छन् । जुम्लाको खेल क्षेत्रले फड्को मार्दै गर्दा लगानीमा ध्यान नभएको खेलाडीले गुनासो गरेका छन् ।
जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव सङ्गीता आचार्यले एथलेटिक्ससहित जुम्लाको सम्भावनाको खेलका लागि अब जोडदार रूपमा लाग्नुपर्नेमा जोड दिइन् ।
कर्णाली प्रदेश खेलकुद समितिका अध्यक्ष सरोज शाहीले खेलकुदमा चरम राजनीतिले खास खेलाडी अघि बढ्न नसकेको चिन्ता व्यक्त गरे ।