काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको आरोप लगाएका छन् । बिहीबार बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन अधयक्ष नेपालले ओलीमाथि यस्तो टिप्पणी गरेका हुन् ।
उनले केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालेको बताए । उनले सरकार ढलेपछि अहिले ओली उटपट्याङ कुरा गरिरहेका भन्दै ओलीका उटपट्याङ कुराहरूको संकलन गर्नुपर्ने बेला आएको बताए ।
अध्यक्ष नेपालले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई ढालेर देखाएको बताउँदै भने, ‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर । तर, अहिले टक्कर दिएपछि केपी ओली बौलाएको होकि, के बोल्छन् बोल्छन् । बरबराएको होकि उटपटयाङ कुरा गर्छन ।’
‘झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्वहरु हुनसक्छ’ अध्यक्ष नेपालले केपी ओलीप्रति लक्षित गर्दै भने, ‘जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाजिएका हुन्छन् । केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ । केही मान्छेहरुलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ ।’
उनले गफाडीको गफमा नअल्मलिनुसमेत आग्रह गर्दै भने, ‘गफमा अल्मिलियो भने समयको वर्बाद मात्र हुन्छ । त्यसले गफाडीको पछाडि नलागौँ ।’