समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक, साथीहरू चनाखो रहनुहोस् : केपी ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा अरू पार्टीको मत अस्वाभाविक रुपमा बढ्दै गएको भन्दै मतगणना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिएका छन् ।

फेसबुकमा उनले ३ प्रतिशत पनि मत नकाट्ने गठबन्धनका घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिएका हुन् ।


‘समानुपातिक मतगणना भइरहेको छ । सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ ।’ फेसबुकमा उनले लेखेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ ।’

ओलीले  जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो बन्न आग्रह गरेक छन् । ‘साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु’, ओलीले भनेका छन् । ओलीले कुन पार्टीको मत अस्वाभाविक आएको हो भन्नेचाहिँ खुलाएका छैनन् ।