बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं एमाले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेद्वार विष्णु पौडेलले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। उनले आइतबार बुटवलमा आयोजित कार्यक्रममा रूपन्देहीलाई भौतिक एवं मानवीय विकासका दृष्टिले उदाहरणीय र अग्रणी बनाउने योजनाका साथ चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।
उनले आफूले गरेका काम र भावी योजना समेट्दै चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरे। सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाइने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचार मुक्त बनाइने प्रतिवद्धतापत्रमा उल्लेख छ।
सार्वजनिक सेवा प्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दो बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने पौडेलले बताए।
विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्व दिइने तथा सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवं सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवर्द्धन गर्न आवश्यक कानुनी, संस्थागत एवं प्रक्रियागत व्यवस्था मिलाइने उनले बताए।
पौडेलले विगतमा रूपन्देहीलाई विकासका दृष्टिले देशकै नमुना बनाउने उद्देश्यका साथ भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको दावी गरे।
गौतमबुद्ध विमानस्थल, बुटवल(बेलहिया छ लेन सडक, भुमही(परासी(भैरहवा-लुम्बिनी-तिलौराकोट सडक, तिनाउ र दानव नदीमा दर्जन बढी डबल लेनका मोटरेबल पुलहरू, बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आफ्नै पहलमा निर्माण भएको उनले दावी गरे।
सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र तयारी अवस्थामा रहेका आयोजनाहरू सुरु तथा सम्पन्न गर्ने जिम्मेवारी आएको उनले बताए।
त्यस्तै यस्तै बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गर्ने पनि पौडेलको प्रतिवद्धता पत्रमा उल्लेख छ।