रुस र युक्रेनबीच वार्ताको प्रयास भइरहेको छ : टर्किस राष्ट्रपति एर्दोगान



टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले रुस र युक्रेनबीच वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । उनले आफ्नो मुलुकले हाल युद्धको अवस्थामा रहेका दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति एर्दाोगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रुपमा निन्दा गरका कारण वार्ता सुरु हुन नसकेको आरोप समेत लगाएका छन् । मध्य एसियाली मुलुक उज्बेकिस्तानबाट टर्की आउने क्रममा उनले पत्रकारहरुसँग यस्तो कुरा बताएका हुन् ।


राष्ट्रपति एर्दोगानले टर्कीले रुस र युक्रेनका बीचमा शान्ति वार्ताको ढोका खोल्न खोजेकाले यस कार्यमा पश्चिमा देशहरुले पनि आवश्यक मात्रामा सहयोग गर्नुपर्ने आवश्यक रहेको जनाएका छन् ।

उता युक्रेनले भने रुसी सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गर्ने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएको यो अडान गत हप्ता पनि दोहोर्‍याएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले गत हप्तामात्र सो धारणा राखेको युक्रेनी मिडियाले जनाएका थिए ।

हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने धारणा युक्रेनको रहेको छ ।

युक्रेनले वार्ताका बारेमा भने केही बताएको छैन । युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि युक्रेनले केही दिन अघि स्पष्ट गरेको थियो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनकाबीचमा प्रत्यक्ष वार्ता भएको थियो ।

त्यसयता यी दुई देशबीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन । त्यसैले आफ्नो मध्यस्थतामा यी दुई देशका बीचमा वार्ता गराउने प्रयासमा टर्की रहेको टर्की राष्ट्रपति एर्दोगानले बताएका छन् ।