रुकुम पश्चिममा माओवादीको ‘क्लिन स्वीप’



रुकुम पश्चिम । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा क्लिन स्वीप गरेको छ । प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र रहेको त्यहाँका सबै क्षेत्रमा यसपटक पनि माओवादी निर्वाचित भएको हो ।

प्रतिनिधीसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा ३९ हजार ५ सय ४९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटालाई २६ हजार ५ सय ८८ मतान्तरले पराजित गरेका हुन । पराजित देवकोटाले १२ हजार ९ सय ६१ मत पाएका छन् ।


त्यस्तै प्रदेश सभा (क) मा माओवादी केन्द्रका उम्मेदवार महेन्द्र केसी विजयी भएका छन् । केसीले जम्मा १९ हजार ३३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणकुमार शाहले ८ हजार ८१ मत प्राप्त पाए । केसी र शाहबीचको मतान्तर १० हजार ९ सय ५२ रहेको छ ।

प्रदेश (ख) मा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका राजकुमार शर्मा एमालेका कर्णबहादुर घर्ती मगरलाई १२ हजार ८२ मतले पछि पार्दै विजयी भएका हुन् । विजयी शर्माले २० हजार १ सय ६० मत पाएका छन् भने पराजित घर्तीले ८ हजार ७८ मत पाए ।

२०६४ सालपछिका सबै आम निर्वाचन जित्दै आएको माओवादीले यसपटक पनि आफ्नो जितलाई निरन्तरता दिएको छ । यसपटकको निर्वाचनमा सत्ता गठबन्धन दलको समेत समर्थनमा माओवादी केन्द्र रुकुम पश्चिममा विजयी भएको हो ।