राष्ट्रपतिले कात्तिक २१ गतेदेखि आइसल्याण्ड भ्रमण गर्ने



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण गर्ने भएकी छन् ।

भ्रमणको तयारीबारे शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको सरोकारवाला निकायसँगको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।


सचिव पौड्यालका अनुसार राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जानेछिन् । राष्ट्रपतिको भ्रमणका क्रममा केही औपचारिक कार्यक्रमसमेत आयोजना हुनेछ । त्यस भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी कात्तिक २१ गते साँँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत त्यसतर्फ प्रस्थान गर्ने र भ्रमण सम्पन्न गरी सोही एयरलाइन्सबाट कात्तिक २६ गते बिहान ७ः३० बजे स्वदेश फर्कनेछिन् ।

कार्यक्रममा उपस्थित सरोकारवाला मन्त्रालय मातहत निकाय र चारवटै सुरक्षा निकायका प्रतिनिधिले राष्ट्रपतिको भ्रमणलाई त्रुटिरहित रुपमा सफल बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाएका थिए ।