खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचन गणतन्त्रको रक्षा गर्ने र राजतन्त्रलाई ब्युँताउन चाहनेबीचको जनमत सङ्ग्रह भएको बताएका छन् ।
वाम–लोकतान्त्रिक गठबन्धन खोटाङले आज दिक्तेलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा संविधान, लोकतन्त्र र सङ्घीयताको रक्षा गर्ने एकातिर तथा संविधान उल्ट्याउन र राजतन्त्र ब्युँताउन चाहनेबीचको प्रतिस्पर्धा भएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्री दाहालले आगामी निर्वाचनमा देशभर सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको पक्षमा जनलहर देखा परिसकेकाले राजतन्त्रलाई ब्युँताउन चाहनेको अभिष्ट पूरा नहुने दाबी गरे । “देशभर भएका कार्यक्रममा जनताको अपार उपस्थितिले सत्ता गठबन्धनका उम्मेदवारको विजयलाई सुनिश्चित गरिसकेको छ”, उनले भने, “खोटाङको विकास र समृद्धि तथा जिल्लाको नेतृत्वको निम्ति, पार्टी, गठबन्धन र सरकारको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु ।”
छिमेकी जिल्ला भोजपुर हुँदै हेलिकप्टरबाट खोटाङ आएका पूर्वप्रधानमन्त्री दाहालले प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई ‘पासाङ’ केन्द्रको मन्त्री बन्ने सम्भावना रहेको बताएका छन् । “रामकुमार राई प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । उहाँ अहिले १ नं प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीसमेत हुनुहुन्छ । तपाईहरूले विजय गराउनुभयो भने केन्द्रको मन्त्री हुने पूरै सम्भावना छ”, उनले भने, “तपाईहरुको विकास र समृद्धिको आकांक्षाप्रति प्रतिबद्ध हुँदै र यो गठबन्धनलाई जिताएर प्रतिगमनलाई सदाका लागि हराउनुपर्छ । राजनीतिक स्थायित्व र विकासको नयाँ युगतिर देशलाई लानुछ । यसमा तपाईहरुको सहयोग आवश्यक छ ।”