म्याग्दीको प्रदेशसभा-२ मा माओवादीका रेशम जुग्जाली निर्वाचित



बेनी । म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित भएका छन् । नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धनको समर्थन पाएका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । १०१ मतान्तरले रेशम निर्वाचित भएका हुन् ।


३७ हजार ६४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (२) मा आइतबार भएको निर्वाचनमा २१ हजार सात मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।